काठमाडौंको रोमाञ्चक जित, कर्णालीको दोस्रो हार
काठमाडौं : नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले रोमाञ्चक जित हात पारेको छ। काठमाडौंले कर्णालीमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको हो।
पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। त्यस्तै काठमाडौं गुर्खाज भने चितवनसँग ५ विकेटले पराजित भएको थियो। टियु क्रिकेट मैदानमा टस जितेको काठमाडौंका लागि सुमित महर्जन ४० मा र साहब आलम शून्यमा अविजित रहे। काठमाडौंको जितमा छैटौं विकेटमा सुमित र गेरहार्डको ५७ रनको साझेदारीले महत्वपूर्ण भूमिका खेल्यो।
पहिले ब्याटिङ गरेर कर्णालीले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ। काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३७ रन बनाएको थियो। पहिलो विकेटका रुपमा शंकर रानालाई ६ रनमा रन आउटको रुपमा गुमायो। उनले ७ बलमा १ चौका प्रहार गरेका थिए।
दोस्रो विकेटका रुपमा स्टेफेन इस्किनाजी ३ रनमा नन्दन यादवबाट एलबीडब्ल्यु आउट भए। ६.४ ओभरमा माइकल लेभिटलाई २२ रनमा विपिन शर्माले नन्दन यादवको हातबाट क्याच गराए। उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे। भिम भने ९ बलमा जिसन मक्सुदको बलमा शिखर धवनले स्लिपमा क्याच आउट गरेका हुन्। पाँचौं विकेटका लागि गेरहार्ड र सुमित महर्जनले ५७ रनको अर्धशतकीय साझेदारी गरे।
१४.२ मा गेरहार्ड इरास्मसको क्याच कर्णालीका कप्तान सोमपालको हातबाट छुट्यो। जिसन मक्सुदको बलमा गेरहार्डले २४ रन बनाउँदा उनले जिवनदान पाएका उनलाई १५.४ मा गुल्सन झाको बलमा सोमपाल कामीले नै क्याच आउट गराए। उनले २४ बलमा ३८ रन बनाएर आउट भए। उनलाई क्याच आउट गराए पछि सोमपालको सेलिब्रेसनले निकै राहत भएको अनुभूति पनि गरायो।
छैटौं विकेटका लागि सुमितले पुन करण केसीसँग ४५ रनको साझेदारी गरे। १९ ओभरको अन्तिम बलमा सोमपालको बलिङमा बाउन्ड्री लाइनमा देव खनालले उत्कृष्ट क्याच लिए। काठमाडौंले १७औं ओभरमा ५ विकेट गुमाउँदै १०० रन पूरा गरेको थियो। कर्णालीले छैटौं विकेटका रुपमा करण केसीलाई २८ रनमा र सातौं विकेट रसिद खानलाई रन आउटको रुपमा शुन्यमै गुमायो।
कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन शर्माले समान १/१ विकेट लिए। त्यसअघि, त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।
कर्णालीका लागि भारतीय स्टार ओपनर शिखर धवनले सर्वाधिक ७२ रन बनाए। धवनले ७२ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
कर्णालीले पावरप्लेमा २ विकेट गुमाएर ३९ रन बनाएको थियो। पहिलो विकेटका रूपमा कर्णालीले देव खनाललाई गुमायो। उनी पहिलो ओभरको तेस्रो बलमा करण केसीबाट एलबीडब्ल्यु आउट भए।
दोस्रो विकेटका रुपमा कर्णालीले चार्डविक वाल्टनको विकेट गयो। उनले १५ बलमा ५ चौकासहित २१ रन बनाएर करण केसीको बलमा गेरहार्ड इरास्मसबाट क्याच आउट भए। दिपेश कँडेलले बाबर हायातलाई १३ रनमा बोल्ड आउट गरे। हायातले १८ बलमा १ छक्का प्रहार गरे। गुल्सन झा १९ बलमा १ चौकासहित १२ रन बनाएर स्पम्पिङ आउट भए। पाँचौं विकेट पनि कर्णालीले छिट्टै गुमायो। पहिलो खेलमा आक्रमक ब्याटिङ गरेका अर्जुन घर्ती ३ बलमा १ चौका सहित ४ रनमा नथान साउटरको बलमा बोल्ड भए।
ओपनर शिखर धवनले छैटौं विकेटका लागि जिसन मक्सुदसँग ६५ रनको अर्धशतकीय साझेदारी गरे। जिसन मक्सुदले ११ बलमा १ चौकासहित १४ रनमा अविजित रहे। काठमाडौंका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २ करण केसी, नथान साउटर, दिपेश कँडेलले समान १/१ विककेट लिए। अर्को खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच हुनेछ।