गोली हानेर पक्राउ गरेको गाँजासहितको गाडी र चालक सार्वजनिक
धरान : सुनसरीको धरानमा प्रहरीले गोली हानेर पक्राउ गरेको गाँजासहितको गाडी चालकलाई प्रहरीले सार्वजनिक गरेको छ।
मंगलबार राति सरकारी नम्बर प्लेटको दुईवटा स्कार्पियो गाडीमा गाँजा बोकेर धनकुटाबाट धरान आउँदै गरेको गाडीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए। पक्राउ परेका चालक, गाडी र गाँजा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
विशेष सूचनाका आधारमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट लगाएको कालो रंगको टाटा कम्पनीको गाडी र अर्को बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट लगाएको सेतो रंगको स्कार्पियो गाडी नियन्त्रणमा लिएको डीएसपी तिम्सिनाले बताए।
गाँजा बोकेको गाडी पक्राउ गर्न धरानका डीएसपी प्रकाश जबेगु नेतृत्वको टोली धरानको शिवधारा पुगेको थियो। गाँजा बोकेको गाडि नियन्त्रणमा लिने क्रममा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले गाडी भगाएको हुँदा इन्सास राईफलबाट ४ राउण्ड गोली फायर गरेर गाडी नियन्त्रणमा लिएको डीएसपी तिमल्सिनाले बताए। उनले गाडीका चालक मोरङको सुन्दरहरैचा नगरपालिका-११ बस्ने बर्ष ३६ को श्याम कुमार विश्वकर्मालाई तत्काल नियन्त्रणमा लिएको र अर्को बा १ झ ५१२७ नम्बरको गाडीका चालक भाग्न सफल भएको बताए।
नियन्त्रणमा लिएको बा १ झ ५१२७ नम्बरको गाडीमा कालो प्लास्टिक भित्र राखेको ३ सय ६५ केजी गाँजा र बा १ झ ४६०५ नम्बरको गाडीमा ३ सय ३५ केजी गाँजा गरि ७ सय केजी गाँजा बरामद गरिएको धरानका डीएसपी प्रकाश जबेगुले बताए। पक्राउ परेका चालक बिस्वकर्मालाइ लागू औषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान थालिएको उनले बताए। बरामद भएका गाडीहरू सरकारी हुन की हैनन् वा फेक सरकारी नम्बर प्लेट बनाएर प्रयोग गरिएको हो भन्ने सम्बन्धमा पनि अनुसन्धान भई रहेको डीएसपी तिम्सिनाले बताए।
गाँजा तस्करहरुले धनकुटाको शहिदभूमि गाउँपालिकामा उत्पादन हुने गाँजा धरान, इटहरी, विराटनगर र भारतसम्म लगेर बिक्री गर्ने गरेका छन्। धनकुटा प्रहरीले गाँजा फँडानी निमिट्यान्न नपारेको र धनकुटामा पक्राउ गर्न चासो नदेखाएपछि खुलेआम तस्करी हुने गरेको छ। धनकुटाबाट भित्रिएको गाँजा सुनसरी प्रहरीले भने कडाइका साथ नियन्त्रणमा लिने गरेको छ।