टुँडिखेलमा मृत भेटिएका पुरूषको पहिचान खुल्यो
काठमाडौं : काठमाडौंको टुँडिखेलमा एक व्यक्ति मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका -२२ स्थित टुँडिखेलमा रहेको गोल पोष्ट नजिकै बुधबार बिहान मकवानपुरका बद्रिप्रसाद सिलवाल मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बिहान ६:३५ बजे एकजना पुरुष मृत फेला परेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा प्रहरीले सिलवाल मृत अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार सिलवालको शव नजिकै चक्कु समेत फेला परेको छ। बाँया हातको मुनि रगतको आहाल बनेको थियो । उनको साथमा रहेको कागजात खोजतलास गर्ने क्रममा नागरिकता समेत भेटिएको छ । नागरिकता अनुसार मकवानपुर घर भएका ४५ वर्षीय बद्रिप्रसाद सिलवाल रहेको पुष्टि भएको हो।
उनको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंजमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।