आलु जोन कार्यक्रममा सूचीकृत भए ७१ संस्था
जोमसोम : मुस्ताङमा ७१ वटा कृषि फार्म, समूह र सरकारी आलु जोन विकास कार्यक्रममा सूचीकृत भएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङले चालू आर्थिक वर्ष २०८१/८२ देखि सुरु भएको आलु जोन विकास कार्यक्रममा मुस्ताङका ४ पालिकाका कृषि समूह, फार्म र सहकारी संस्था अनुदान कार्यक्रममा समेटिएका हुन्।
मुस्ताङमा स्याउ जोन र च्यांग्रा जोन कार्यक्रमपछि आलु जोन विकास कार्यक्रम कार्यान्वयनमा आएको हो। आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी बाह्य देशबाट हुने आयातलाई प्रतिस्थापन गर्ने र खाद्य सुरक्षामा समेत टेवा पुर्याउने उद्देश्यले नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी मुस्ताङमा आलु जोन विकास कार्यक्रम ल्याइएको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कार्यालय प्रमुख भरतराज गौतमका अनुसार घरपझोङमा ३२ वटा, वारागुङ मुक्ति क्षेत्रमा ३३ वटा, थासाङ गाउँपालिमा ४ वटा र उपल्लो मुस्ताङको लोमान्थाङबाट २ कृषि समूह, फार्म र सहकारी संस्था आलु जोन विकास कार्यक्रममा आबद्ध भएका हुन्।
मुस्ताङका पाँच पालिकाका २५ वटै वडाहरू कार्यक्रममा समेट्ने लक्ष्य रहे पनि सम्बन्धित पालिकाका वडाहरू यस कार्यक्रममा प्रस्ताव नआएका कारण आबद्ध हुन नसकेको कार्यालय प्रमुख गौतमको भनाइ छ। आलु जोनको पहिलो वर्षको कार्यक्रममा कुल सूचीकृत भएकामध्ये घरपझोङमा ४५ प्रतिशत, बारागुङ मुक्तिक्षेत्रमा ४६, थासाङमा ६ र लोमान्थाङ गाउँपालिकामा ३ प्रतिशत संस्था आबद्ध भएको उनले उल्लेख गरे।
मुस्ताङमा चालु वर्षदेखि कार्यान्वयनमा आएको कार्यक्रमका लागि १ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। आलु जोन विकासअन्तर्गत १ करोड १७ लाख रुपैयाँ बजेट आलु जोनका लागि अनुदान शीर्षकमा खर्च हुनेछ। बाँकी १३ लाख रुपैयाँ तालिम, प्रविधि प्रदर्शनी, क्रप कटिङ र तथ्यांक संकलन लगायतका सेवामूलक कार्यक्रममा खर्च हुने कार्यालय प्रमुख गौतमले जनाए।
मुस्ताङमा सञ्चालित कार्यक्रमका लागि कुल ५ सय हेक्टर क्षेत्रफल निर्धारण गरिएको छ। सूचीकृत संस्थाले पूर्वाधार विकासतर्फ ८५ प्रतिशत अनुदान सहुलियत पाउनेछन्। बाँकी १५ प्रतिशत भने सम्बन्धित संस्थाले स्वलगानी रहनेछ।
यसैगरी कार्यक्रमअन्तर्गत यन्त्र उपकरण, बिउ, प्रशोधनलगायतका सामग्री खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध हुने उनले बताए। मुस्ताङमा आर्थिक वर्ष २०७९/८० मा ४ सय ५९ हेक्टर क्षेत्रफलमा आलु खेती गर्दा ७ हजार ३१ टन आलु उत्पादन भएको थियो। मुस्ताङमा स्थानीय जातको सेतो आलु र विकासे रातो आलुको खेती गर्ने गरिएको छ। हिमाली क्षेत्रमा उत्पादन हुने आलु स्वादिलो र पोसिलो हुन्छ। सहर बजारको उपभोक्ताको रोजाइमा मुस्ताङी आलु पर्ने गर्छ।