दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पेस
सोल (एजेन्सी): दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलविरुद्ध महाअभियोग प्रस्ताव पेस गरिएको छ। प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीसहित ६ विपक्षी दलले महाअभियोग प्रस्ताव पेस गरेका हुन्। महाअभियोगमाथि शुक्रबार वा शनिबार मतदान हुने जनाइएको छ। राष्ट्रपति येओलले देशलाई उत्तर कोरियाको कम्युनिस्ट शक्तिहरूबाट जोगाउन र राज्य विरोधी तत्वहरूलाई हटाउन भन्दै मंगलबार राति ‘मार्सल ल’ लागू गरेका थिए। तर, यो लागू भएको ६ घण्टा पनि नबित्दै त्यहाँका सांसदहरूले उक्त कानुनलाई उल्ट्याइदिएका थिए।
मार्शल ल लागू गर्ने उनको कदमलाई बिफल पारेपछि सांसदहरूले महाभियोगको प्रक्रिया सुरु गरेका हुन्। योसँगै राष्ट्रपतिले बुधबार बिहान मार्सल ल लागू गराउने आदेश फिर्ता लिन बाध्य भएका थिए। मार्सल ल लगाउने राष्ट्रपतिको कदमको विरोध गर्दै बुधबार विपक्षी दलका कार्यकर्ताहरूले उनको राजीनामाको माग गर्दै देशभर प्रदर्शन गरेका थिए।