पुम्से वर्ल्ड च्याम्पियनसिपमा बब्लु
काठमाडौं : हङकङमा आयोजना भएको तेक्वान्दोको पुम्से वल्र्ड च्याम्पियनसिपमा नेपालका बब्लु सिवाकोटीले प्रतिस्पर्धा गरेका छन्। नोभेम्बर ३० देखि डिसेम्बर ४ सम्म आयोजना भएको वल्र्ड च्याम्पियनसिपमा बब्लुले ४० वर्षमुनि एकल र यही उमेर समूहमा पेयर पुम्सेमा प्रतिस्पर्धा गरेका हुन्।
बब्लुले १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता आयशा शाक्यसँग पेयर पुम्सेमा प्रतिस्पर्धा गरेका थिए। उनीहरूले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए।
उनीहरूको जोडी इरानी खेलाडीसँग झिनो अन्तरले पछि परेका थिए। यसअघि बब्लुले सन् २०१५ मा हङकङ र २०१७ थाइल्यान्डमा आयोजना भएको च्याम्पियनसिपमा पनि पुम्सेमा प्रतिस्पर्धा गरेका थिए।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स (टीडी)समेत रहेका बब्लु तेक्वान्दोको पुम्से तथा ग्योरोगीका अन्तर्राष्ट्रिय निर्णायक पनि हुन्। उनले जापान, चीन, मलेसिया, श्रीलंका र बंगलादेशमा आयोजना भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। यस्तै अजरबैजानमा आयोजना भएको ग्योरोगीको वल्र्ड च्याम्पियनसिपलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। बब्बु तेक्वान्दोको अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक पनि हुन्।
च्याम्पियनसिपमा नेपालबाट बब्लुसँगै सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए। आयशाले महिला व्यक्तिगत स्पर्धामा पनि प्रतिस्पर्धा गरेकी थिइन्। यस्तै निशा दर्नालले ३० वर्षमुनि व्यक्तिगत र पेयर, असिम राउतले ३० वर्षमुनि व्यक्तिगत र टिम पुम्सेमा नेपालको चुनौती प्रस्तुत गरेका थिए।
जितबहादुर बोटले ३० वर्षमुनिको टिम तथा प्रेमबहादुर लिम्बूले ३० वर्षमुनि टिम र जोडी पुम्सेमा प्रतिस्पर्धा गरेका थिए। रोजन प्रजापतिले जुनियर व्यक्तिगत विधामा खेलेका थिए। वल्र्ड च्याम्पियनसिप पुम्सेको सबैभन्दा ठूलो प्रतियोगिता हो।