बहुकक्षा बहुस्तर शिक्षण विधि

बहुकक्षा बहुस्तर शिक्षण विधि
फाइल तस्बिर।

शिक्षाको उद्देश्य व्यक्तिमा रहेको अन्तरनिहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटित गराउनु हो। समाज र राष्ट्रलाई अग्रगतिमा डोर्‍याउनु हो। नेपालजस्तो अल्पविकसित मुलुकमा व्यक्ति र समाजको विकासका लागि आर्थिक उन्नतिलाई टेवा पुर्‍याउने खालको शिक्षा हुनुपर्छ। व्यक्तिको चाहनालाई मात्र होइन, समाजलाई नै अगाडि बढाउने र श्रमशक्ति तथा उत्पादन प्रक्रियामा टेवा पुर्‍याउने खालको शिक्षा हुनुपर्छ। 

शिक्षालाई व्यावहारिक बनाउन शिक्षा क्षेत्रमा विश्वमा विभिन्न प्रकारका शिक्षण सिकाइका विधि र प्रविधिहरू प्रयोगमा ल्याइएका छन्। यस्ता नवीनतम विधि र प्रविधिले विद्यार्थीको सिकाइ स्तर, क्षमता र आधुनिक सिकाइ सिद्धान्तअनुसार सहज र सरल सिकाइको वातावरण सिर्जना गरी प्रभावकारी र बालमैत्री सिकाइको वातावरण तयार पार्न मद्दत गर्दछ। बालबालिकाको सिकाइमा सुधार ल्याउनका लागि र बदलिँदो परिस्थितिअनुसार विद्यालयको शिक्षण सिकाइ बढीभन्दा बढी प्रभावकारी बनाउनको लागि तल्ला कक्षाहरूमा बहुकक्षा बहुस्तर शिक्षण विधि पनि एक उत्तम विधि मानिएको छ।
 

बहुकक्षा बहुस्तर शिक्षण सिकाइले विभिन्न कक्षाका विभिन्न सिकाइस्तर भएका विद्यार्थीलाई एकै ठाउँमा राखेर सिकाउने तरिकालाई जनाउँछ। यस किसिमको सिकाइमा विद्यार्थीले आफ्नो क्षमताअनुसार एकै परिवेशमा बसेर सिक्ने अवसर प्राप्त गर्दछन्। नेपालको सन्दर्भमा बहुकक्षा बहुस्तर शिक्षण सिकाइको प्रयोग हुन थालेको दुई दशक हाराहारीमा पुगिसकेको छ। 

२०४८ सालतिर सिन्धुपाल्चोक बाह्रबिसेको विष्णु आध्यात्मिक संस्कृत आधारभूत विद्यालयमा ३ जना शिक्षक र ५ वटा कक्षा थियो। ३ जना शिक्षकले ५ वटा कक्षा सञ्चालन गर्नको लागि कठिन हुन लागेपछि विभिन्न विधिमध्ये बहुकक्षा बहुस्तर शिक्षण विधि उपयुक्त लागेर प्रधानाध्यापक ठाकुरप्रसाद पौडेलले त्यही सालबाट यो विधिलाई सामान्य तरिकाले आफ्नो विद्यालयमा सुरु गरे। यो विधिलाई पनि कसरी उत्कृष्ट बनाउने भन्ने अनेक उपायहरू अपनाउँदै शिक्षण गरिरहेको बेला शिक्षा विभागबाट बहुकक्षा बहुस्तर शिक्षण विधि सञ्चालन भएका विद्यालयको मनिटरिङ भयो। 

नेपालमा यो पद्धति उपयुक्त छ भनेर शिक्षा विभागले नै कार्यक्रम तयार गर्‍यो। अध्ययनका लागि ऋषि भ्यालीमा १० दिनको तालिममा सहभागी भएका टोलीले त्यहाँबाट फर्केर धुलिखेलमा १५ दिनको कार्यशाला गरे। आवश्यक सामग्री निर्माण गरे र अध्ययनका लागि गएका ठाकुरप्रसाद पौडेलको विद्यालय सिन्धुपाल्चोक जिल्लाको विष्णु आध्यात्मिक संस्कृत प्राथमिक विद्यालय बाह्रबिसेलाई नमुना विद्यालयका रूपमा विकास गरी कार्यान्वयनमा ल्याइएको थियो। नेपालमा यो पद्धति २०६६ सालमा लागू भएपछि सुरुमा २५ वटा स्कुलमा लागू भएको थियो त्यसपछि ६० वटा विद्यालयमा लागू भयो। क्रमशः थपिँदै गयो। 

पछि सरकारको पक्षबाट अलि निष्क्रिय भयो तर जर्मन नेपाल सहयोग संघले यो कार्यक्रमलाई निरन्तरता दिइरह्यो। अहिले २ सय ६९ विद्यालयमा एमजीएमएल सञ्चालन भएको छ। कक्षा ४ र ५ का लागि पनि सामग्री विकास भएको छ। जर्मन नेपाल सहयोग संघका शिक्षा अधिकृत ठाकुरप्रसाद पौडेलका अनुसार भारतको आन्ध्र प्रदेशमा कृष्णमूर्ति फाउन्डेसनले सञ्चालन गरेको ऋषि भ्याली इन्स्टिच्युट अफ एजुकेसनल रिसोर्सको सहकार्यमा यो पद्धति नेपालमा सुरु भएको हो। 

बहुकक्षा बहुस्तर शिक्षण पद्धतिलाई कार्यान्वयन गर्ने सिलसिलामा धेरै अनुसन्धान गरेर सामग्रीको रूपमा रुजु सूची, सिकाइ सिँढी, कोसेढुंगा, चेकलिस्ट, सिकाइ कार्डको विकास गरेको उनको भनाइ छ। बहुकक्षा बहुस्तर पद्धतिमा कक्षाकोठा व्यवस्थापनअन्तर्गत कक्षाकोठाको छनोट, र्‍याक, टेबुल निर्माण, बसाइ व्यवस्था, किट बक्सको प्रयोग, कालोपाटी व्यवस्थापन, प्रदर्शनी बोर्ड, ह्याङिङको व्यवस्था, सिकाइ अभिलेखको व्यवस्थापन आदि पर्दछन्।

विद्यार्थी संख्या र शिक्षक संख्या कम भएका विद्यालयहरूमा यो उपयुक्त शिक्षण पद्धति हो। यस विधिमा पढ्नका लागि पाठ्यपुस्तक नभए पनि हुने, विद्यार्थीहरू सिकाइप्रति स्वइच्छाले लाग्ने, सिकाउने शिक्षक पनि उस्तै सक्रिय हुने गर्दछ। यो कक्षामा विद्यार्थीलाई चारवटा छुट्टाछुट्टै समूहको टेबुलमा बाँडिएर राखिएको हुन्छ। प्रत्येक विद्यार्थीका बेग्लाबेग्लै कालोपाटी रहेको हुन्छ। कक्षाका भित्ता र सिलिङमा शैक्षिक सामग्रीहरू झुन्ड्याइएका हुन्छन्। समूहमा बसेर पढ्दा कक्षामा अलि बढी हल्लाखल्ला जस्तो देखिन्छ तर एकअर्कामा विद्यार्थी खुसी भएर सिकिरहेका हुन्छन्। 

यस पद्धतिमा सिकाउन खोजेको कुरालाई उपयुक्त क्रियाकलापहरू गराएर ठोस ज्ञान निर्माण गर्ने प्रयत्न गरिन्छ। विद्यार्थीलाई स्कुलमा बिताउने हरेक मिनेट रोचक, आनन्ददायी र सिकाइको दृष्टिले पनि उपलब्धिमूलक होस् भन्ने कुरामा विशेष ध्यान पुर्‍याएर यो शिक्षण पद्धतिको विकास गरिएको छ। यो कक्षाकोठा साधारण स्कुलको भन्दा भिन्न हुन्छ। कक्षामा जे–जति सामग्रीहरू हुन्छन्, त्यसमा विद्यार्थीको सहज पहुँच हुनुपर्छ । ती सामग्रीहरू विद्यार्थीले आफूलाई मन लागेको बेला प्रयोग गर्न सक्ने हुनुपर्छ। विद्यार्थीले हरेक समय सजिलो महसुस गर्न सक्ने कक्षाकोठा भनेकै बहुकक्षा बहुस्तर शिक्षण पद्धति हो।

एउटै कक्षाका सबै विद्यार्थीको सिकाइस्तर समान नहुन सक्छ। यही मान्यतालाई आधार मानेर कक्षाका विद्यार्थीलाई चार समूहमा बाँडिएको हुन्छ। यस पद्धतिमा विद्यार्थीले अवधारणा बुझेपछि आफैं स्वतन्त्र रूपमा सिक्न र नयाँनयाँ क्रियाकलाप गर्न अग्रसर हुन्छन्। यस विधिको अर्को सबल पाटो के पनि हो भने ‘मैले कति सिकेँ, साथीले कति सिक्यो र अब कति सिक्न बाँकी छ ? ’ भन्ने कुराको मूल्यांकन विद्यार्थी आपैंmले पनि गरिरहेको हुन्छ। 

नेपाल सरकारले लागू गरेको निरन्तर मूल्यांकन विधिको सही प्रयोग यस विधिले गरिरहेको छ। २०७६ सालको पाठ्यक्रमले कक्षा १ देखि कक्षा ३ को एकीकृत पाठ्यक्रम लागू गर्‍यो। यो बहुकक्षा बहुस्तर शिक्षण पद्धतिसँग मेल खान्छ। यस विधिमा हरेक माइलस्टोन पूरा गर्दा नै एक प्रकारको परीक्षा भइसकेको हुन्छ। मल्टिग्रेडका अर्को महŒवपूर्ण विशेषता भनेको १०० प्रतिशत नआई अर्थात् सबै कुरा नजानी कुनै पनि विद्यार्थी पास हुँदैनन्। वर्षभरिमा सबै माइलस्टोन पूरा नगरी कसैको पनि अन्तिम परीक्षा हँुदैन। त्यो माइलस्टोन पूरा हुनु भनेको सबै कुरा जान्नु हो। 

विद्यार्थीलाई वास्तवमै सिक्ने प्रवृत्तिको विकास गर्ने हो भने, जिज्ञासु बनाउने हो भने, सिक्ने तरिका सिकाउने हो भने, सिर्जनात्मक क्षमताको विकास गराउने हो भने र उसका अन्तरनिहित प्रतिभा र क्षमता उजागर एवं विकास गराउने हो भने यो पद्धति सबैभन्दा उत्तम हो। 

यस पद्धतिमा हरेक दिन विद्यार्थीले के के क्रियाकलाप गर्‍यो, के के सिक्यो भन्ने कुरा प्रस्टै थाहा पाइन्छ। विद्यार्थीले के जानेन, त्यो पनि प्रस्टै देखिन्छ र नजानेको कुरा तत्कालै सिकाइन्छ। त्यसैले यहाँ विद्यार्थीले नजानी वा नबुझी अघि बढ्ने सम्भावना नै रहँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.