बसको टिकट चाहियो ? ‘ओके जर्नी’ छ त !
काठमाडौं : सन् २०१४ तिर सर्लाहीका राजेशदास आईओई थापाथली क्याम्पसमा इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्जिनियरिङ गर्दै थिए। गाउँमा हल्ला फैलियो ‘इलेक्ट्रिक्ल कम्युनिकेसन इन्जिनियरिङ पढे त कामै पाइँदैन, त्यो विषय कसैले पढ्नु पनि हुँदैन।’ आफूले पढिरहेको विषय अनि बजारतिर फैलिएका हल्ला। राजेश एकमनले सोच्न बाध्य भए। ‘के मैले पढेको विषयले काम पाइँदैन ?,’ उनले फेरि सोचे, ‘अरूकै काम गर्नुपर्छ भन्ने छ र ! आफूले पनि त केही गर्न सकिन्छ।’
सर्लाहीका राजेश दासलाई बसको टिकट काट्न करिब डेढ घण्टाको बाटो हिँडेर रौतहटको गौर पुग्नुपथ्र्यो। टिकट खुलेकै दिन गयो भने बसको अगाडिको सिट पाइन्थ्यो, नभए पछाडिको। कहिलेकाहीँ त सिटै नपाउँदा रित्तै फर्कनुपथ्र्यो। यो उनको व्यक्तिगत समस्या मात्र थिएन, गाउँका सबैको साझा समस्या थियो। राजेशले त्यही समस्या सुल्झाउने उपाय सोचे। दिमागमा आइडिया फुरिहाल्यो– बसमा पनि हवाईजहाजमा जस्तै क्लासअनुसार सिट बुक गर्ने। आफूले चाहेको र खोजेको जस्तै।
सन् २०१८ मा अन्तिम वर्षको परीक्षा नसक्दै राजेशको दिमागमा ‘अनलाइन बस टिकेटिङ’ को कन्सेप्ट आइसकेको थियो। प्लान र आइडियाहरूसमेत तयार पारिसकेका थिए। कमी थियो त मात्रै रकम र प्रोग्रामिङ डेभलपमेन्टको।
इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ भित्र प्रोग्रामिङको अध्ययन कमै थियो। जसकारण उनले प्रोग्रामिङको लागि केही समय क्लास लिए र पैसा जुटाउन एक महिना जति जागिर पनि गरे। केही समयपछि उनीसँग पैसा र सीप दुवै भयो। एप डेभलपको काम सुरु गरिहाले। एप तयार भयो। नाम राखे ‘ओके जर्नी’। मतलब यात्राको भरपर्दो साथी। जहाँ आफ्नो आवश्यकताअनुसार बस टिकट बुक गर्न सकिन्छ, त्यो पनि क्लासअनुसार।
राजेश ‘ओके जर्नी’ ले अनलाइन बस टिकेटिङमात्रै नभई टुर प्याकेजिङमा समेत लागि रहेको बताउँछन्। ‘ओके जर्नीले अनलाइन बस टिकेटिङको काम गर्छ। साथै टुर प्याकेजतिर पनि लागिरहेको छु’ उनले भने, ‘तर, हाल भनेको बस टिकेटिङमात्रै रहेको छ। प्यासेन्जरको हिसाबले हेर्ने हो भने हामीले मार्केटभन्दा फरक प्रस्प्रेक्टिभ दिएका छौं। त्यसमा तीन क्लास रहेका छन्। बिजनेस क्लास, इकोनमिक क्लास र लक्जरी क्लास। जस्तै काठमाडौंबाट जनकपुर जाने गाडीभाडा सामान्यतयाः १२ सय छ भने, तपाईंले ‘ओके जर्नी’ मा इकोनमिकल्ली क्लास बुक गर्नुभयो भने ११ सय या एक हजार रुपैयाँमा टिकट पाउन सक्नुहुन्छ। त्यसैगरी बिजनेस क्लासमा अलि महँगो १३ सय ५० र लक्जरी क्लासमा १४ सय ५० रुपैयाँसम्म पाउन सकिन्छ। ’
‘ओके जर्नी’ले काम कसरी गर्छ ?
बसमा सामान्यतयाः अगाडि, पछाडि र झ्यालवाला सिटहरू हुन्छन्। लामो रुटको बसमा यात्रा गर्नु प्रायः सबैलाई गाह्रो हुन्छ। त्यसैलाई ध्यानमा राख्दै ओकेले एकदमै आराम चाहिने र ज्येष्ठ नागरिकले बिजनेस सिट बुक गर्ने, नर्मल सिटमा जान खोज्ने यात्रुलाई इकोनमिक्स क्लासका टिकटको व्यवस्था गर्ने र कसैले गाडीमा नै खानाको पनि सुविधा माग्यो भने त्यो लक्जरी क्लास गरी आवश्यकताअनुसारको सिट उपलब्ध गराउँछ।
राजेशका अनुसार दिनमा लगभग डेढ सयदेखि दुई सय जनाले लक्जरी क्लासको सिट बुक गरिरहेका छन्। जसको माग परिपूर्तिका लागि ओके जर्नीले पूर्वदेखि पश्चिमसम्म सेवा विस्तार गरेको छ। पूर्व जानको लागि प्राइम, गोल्डेन गो, नोटबस, मेची एयरबस आदि बस रहेका छन्। मधेस प्रदेशको लागि एस एयरबस, सावित्री डिलक्स तथा बुटवल तथा पश्चिमको लागि स्टारबस, रेन्बो, एस इयर आदिजस्ता बसहरू रहेका राजेशको भनाइ छ।
सुरुमा आफू एक्लैले सुरुवात गरेकोे ओकेमा पछि गएर राजेशले केही साथीको साथ पाए। फ्रेन्ड सर्कल केही साथीहरूले उनको अनलाइन बस टिकेटिङमा इन्भेस्ट गर्न रेडी भए।
ओकेको जुन पोर्टल हाल अनलाइनमा देखिन्छ, यहाँसम्म आइपुग्दासम्म ५० भन्दा बढी पटक चेन्ज (रिफाइन्ड) भइसकेका छन्। जुन राजेशले सुरुमा डेभलप गरेका थिए, टिम बनिसकेको थिएन, बिस्तारै टिम बन्न थाल्यो, त्यसपछि फेरि रिफान्ड हुने, टिम बन्ने पुनः रिफान्ड हुने टिम बन्ने भइरहेको हुँदा पचासै पटक पोर्टल रिफाइन्ड भएको राजेश बताउँछन्।
‘मल्टिपल टाइममा मल्टिपल टिमहरू मिलेर फ्रिल्यान्सर इन्टर्नसिपदेखि लिएर डेभलपरहरू टाइम टु टाइम चेन्ज हुँदा प्रोडक्ट फिडब्याकिङ प्रोसेसहरू पनि चेन्ज हुँदै गएको हो, र यो मल्टिपल टिमले बनाएको प्रोडक्ट हो,’ उनले भने।
कसरी सूचीकृत गर्ने ओकेमा ?
गाडी लिस्ट गर्नका लागि ओकेको अपरेटर एप्लिकेसनबाट निःशुल्क दर्ता गर्न सकिन्छ। जसमा बसवालाहरू आफैंले टिकट बुकिङ गर्न र एजेन्टहरू पनि असाइन गर्न मिल्छ। यात्रीले गाडी बुक गर्न कुनै एप डाउनलोड गर्न पर्छ भन्ने छैन। ‘ओके जर्नी’का बेवसाइडमा गएर टिकट लिन सकिन्छ। यसका साथै एनसेल र नबिल बैंकको एपमा पनि ओके जर्नीको एप उपलब्ध छ।
ओके जोर्नीको यो यात्रासम्म आइपुग्नका लागि कति खर्च भयो भनेर राजेशले अहिलेसम्म हिसाब गरेका छैनन्। क्यालकुलेसनसमेत गरिसकेका छैनन्। एज अ ट्राभल र सफ्टवेयर कम्पनीमा दर्ता भएको कारणले अन्य काम गरेर आएको पैसा यता लगाइरहेको उनले बताए।
‘हामीले सुरु गर्ने बेलामा मलाई बस सेवा पनि छ भनेर थाहा थिएन।’ उनले भने, ‘जुन अहिले बुकिङ एपहरू छन् तिनीहरूको कुनै अत्तोपत्तो थिएन। त्यतिबेलामा मसँग केही पनि थिएन प्रोडक्ट डेभलपमेन्ट गर्नेदेखि लिएर केही पनि आइडिया थिएन, मार्केटमा कसरी आउने आइडिया थिएन। एकदमै केही नभएको माइनसबाट सुरु गरेको हो। बजारमा बीचमा कम्पिटिसनहरू धेरै आइरहेकै हुन्छन्। मार्केटमा कठिनाइ भएको भए एउटा प्रोडक्ट खुब उचाइमा पुगिसकेको हुन्थ्यो। मार्केटमा ठूलो होल्डिङ प्वाइन्ट छ, उनले भने, ‘त्यसले गर्दाखेरि हामीलाई छिटो अगाडि बढ्न अलि समय लागिरहेको छ। ट्राभल र सफ्टवेयर कम्पनीमा दर्ता भएको कारणले सरकारी कामका प्रोजेक्ट गर्ने र त्यो पैसा एता इन्भेस्ट गर्ने भएकाले हालसम्म कति पैसा खर्च भयो मैले हिसाब गरेको छैन।’
राजेश आफूहरू जस्तै नयाँ स्टार्टअप बिजनेसका लागि धेरै कुराहरूमा सामना गर्नु परेको बताउँछन्। उनले सबैभन्दा धेरै सरकारले बनाएको ट्याक्स पोलिसीले गर्दा समस्या भएको बताए। उनी भन्छन्, ‘सबैभन्दा मुख्य पोलिसी ट्याक्समा प्रब्लम छ, सरकारले त्यो समाधान गर्नुपर्छ। अरू कुराहरू पनि छन्। जुन हामीले दैनिक भोगिरहेका हुन्छौं।’
राजेशसँग ससाना कुरामा ध्यान नपुग्दा भएको समस्याको तीतो अनुभव छ। त्यसकारण उनी नयाँ स्टार्टअप कम्पनीहरूलाई दुई वर्षको फन्डिङ भएपछि मात्रै कम्पनी चलाउन र सबै कुरा बुझेर मात्रै काम गर्न सुझाउँछन्।
‘स्टार्टअप बिजनेसको लागि सबैभन्दा गाह्रो कुरो भनेको टिम बनाउनु हो । टिम बनाएपछि सस्टेन गराउनका लागि गाह्रो पर्छ। सेल्स र फाइनान्सियल्ली टिकाउन पनि उस्तै छ । त्यसमा लङ टर्म भिजन गर्नेको फाउन्डर पाउन पनि गाह्रो। टिम चलाउनका लागि पनि फाइनान्स आदि कुराहरूको आवश्यकता पर्छ। उनले भने, ‘नयाँ स्टार्टअप गर्न चाहनेहरूलाई दुई वर्षको फन्डिङ चाहिँ सुरुमा नै जुटाउनुपर्छ। त्यसलाई मल्टिपल टाइम रिफाइन र स्टडी गरेर मात्रै पैसा र टाइम दिएर त्यसलाई स्टार्ट गर्नुपर्छ। पहिला सुरु त्यसका लागि इभेन्ट बनाउने त्यसको फिडब्याक लिएर सबै कुराहरू ठीक छ भनिसकेपछि मात्रै पैसा हाल्नुपर्छ। मार्केटमा पैसा भएन भने आफ्नो प्रोडक्ट चलाउन गाह्रो हुन्छ। कुनै बेलामा प्रोडक्ट धेरैमाथि पिकमा पुग्न सक्छ त्यतिखेरको लागि चाहिँ हाम्रो प्रोडक्ट क्यापेबल हुनुपर्छ। त्यसैलाई होल्ड गर्न सक्नुपर्छ र सस्टेसन गराउन सक्नुपर्छ।’