लोप हुने अवस्थामा ‘प्यूठानी बाघमुखे चुलेसी’
प्यूठान : सीप पुस्तान्तरण नहुँदा जिल्लाको चिनारीका रूपमा रहेको प्यूठानी बाघमुखे चुलेसी लोप हुने अवस्थामा पुगेको छ। पछिल्लो पिढिमा चुसेली बनाउने सीप सिक्ने चासो नहुँदा लोपोन्मुख अवस्थामा पुगेको हो।
मल्लरानी गाउँपालिका–४ बुढाँचौरका ६० वर्षीय जोखबहादुर कसेराले चुलेसी बनाएरै जीविका चलाउँदै आएका छन्। ‘मेहनत धेरै लाग्छ’, कसेराले भने, ‘बजारमा मागअनुसार चुलेसी पु¥याउन सकेको छैन।’ सीप सिक्ने नयाँ पुस्ता नहुँदा कालिगढको अभावले उत्पादनमा कमि आएको उनले बताए। उनका अनुसार एक लटमा ५ वटा चुलेसी निर्माण गर्न सकिन्छ। पुख्र्र्याैली रूपमा आरन व्यवसाय गर्दै आएका उनले पहिले खुकुरी र छुराहरू वनाउने काम गर्थे। चुलेसीमा राम्रो आम्दानी हुने भएपछि उनले यो बनाउन थालेका हुन्। अहिलेको पिढिमा कम मेहनत र छोटो समयमा धेरै पैसा आम्दानी गर्ने सोच भएकाले युवाहरूले यो सीप सिक्न नचाहेको उनको बुझाइ छ। चुलेसी बनाएरै आफ्नो पहिचान बनाएका बुढाँचौरकै केदार सिंह विकको ५ वर्षअघि निधनसँगै चुलेसी लोप हुने अवस्थामा पुगेको यहाँका स्थानीयको भनाइ छ। युवा रोजगारीका लागि भारत तथा अन्य मुलुक जाने भएकाले चुलेसी बनाउन रुचि राख्न छोडेको चुलेसी व्यवसायी चन्द्रलाल श्रेष्ठले बताए।
जंगलमा पाइने ‘देवल’को माटोलाई बाघको आकार दिएर त्यसमा मैनको सहायताले पित्तलको चुलेसी निर्माण गर्ने गरिन्छ। चुलेसीमा फलामको धार राखेर बाघमुखे चुलेसी तयार हुन्छ। मेहनत धेरै लाग्ने, कच्चा पदार्थ (मैन र पित्तल) स्थानीय बजारमा सहज रूपमा नपाइने हुँदा नयाँ पुस्ताको आकर्षण नदेखिएको केशराको बुझाइ छ। प्रतिचुलेसी २ हजार १ सय रुपैयाँ बजार मूल्य रहेको छ। विभिन्न शिलशिलामा जिल्ला आउने पाहुँनाहरूलाई प्यूठानको चिनोका रूपमा चुलेसी लिने चलन छ। बिना रसायन चुलेसी निर्माण हुने भएकाले यहाँको थप महत्व छ। चुलेसीको संरक्षण र सीप विकासका लागि जिल्लास्थित सरोकारवालाहरूले ध्यान नदिएका स्थानीयको गुनासो छ।