जिल्लाभरि नै छैन आईसीयू सेवा, उपचारका लागि अन्यत्रै जानुपर्ने बाध्यता
रमेश बस्ताकोटी
नवलपुर : सुगम मानिने नवलपुर जिल्लामा एउटा पनि सघन उपचार कक्ष (आईसीयू) नहुँदा बिरामीलाई उपचारका लागि छिमेकी जिल्ला जानुपर्ने बाध्यता अझै हटेको छैन। यहाँ सञ्चालित सरकारी तथा निजी अस्पताल कतै पनि आईसीयू नहुँदा गम्भिर प्रकृतिका विरामीहरू अन्यत्रै उपचारका लागि जान बाध्य छन्।
प्रदेश सरकार मातहत रहेको मध्यविन्दु जिल्ला अस्पतालमा आईसीयू सेवा र पर्याप्त विषेशज्ञ सेवा उपलब्ध छैन। जसका कारण आईसीयूमा राखेर उपचार गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीहरूलाई जिल्ला अस्पतालले छिमेकी जिल्ला चितवन वा काठमाडौं रिफर गर्ने गरेको मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रमेशप्रसाद आचार्यले बताए। उनले जिल्लाभर नै एउटा पनि आईसीयू नहुँदा बिरामीहरू मर्कामा परेको बताए। ‘जिल्लामा कहिँ पनि आईसीयू छैन, बिरामीहरूलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था छ, यसले गर्दा उनीहरूको आर्थिक नोक्सान त भएको छ नै मानसिक तनाव पनि त्यति नै भोग्नुपरेको छ।’ उनले आईसीयू सञ्चालनमा ल्याउन जिल्ला अस्पतालमा मुख्यतयाः पूर्वाधारको अभाव रहेको बताए। ‘आईसीयू सञ्चालन गर्ने पूर्वाधार पनि छैन, अर्को कुरा जनशक्ति पनि पर्याप्त नहुँदा समस्या आएको छ। पूर्वाधार र जनशक्ति अभावले भएका सेवा पनि पूर्ण रूपमा सञ्चालन गर्न सकेका छैनौं’, उनले भने। जिल्ला अस्पतालमा अहिले तिन तले भवन निर्माणाधीन अवस्थामा छ। निर्माण सम्पन्न भएर सेवा सुरु भएपछि आईसीयू सञ्चालन गर्न सकिने डा. आचार्यले बताए।
मध्यविन्दु जिल्ला अस्पताल सञ्चालक समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बजेट अभावकै कारण आईसीयू सञ्चालन गर्न नसकिएको बताए। ‘हामीले पटकपटक पहल गरेका छौं। सम्बन्धित निकायमा भनेका छौं। तर यो जिल्लामा आईसीयू सञ्चालन हुन सकेको छैन। यो दुःखद पक्ष हो’, घिमिरेले भने। उनले अस्पतालको आन्तरिक खर्चबाट आईसीयू सञ्चालन गर्न नसकिने बताए। ‘आन्तरिक आम्दानी निकै कम छ , जनशक्ति व्यवस्थापन लगायतका काम पनि गर्न सकिएको छैन। दरबन्दी निकै कम छ। आईसीयू सञ्चालन गर्दा अरू जनशक्ति थप गर्नुपर्छ। त्यो तत्काल सम्भव छैन’, घिमिरेको भनाइ छ। मध्यबिन्दु जिल्ला अस्पताललाई ५० शैयाको सञ्चालन स्वीकृति दिए पनि १५ शैयाको मात्र दरबन्दी कायम भएको घिमिरेले बताए।
‘जनशक्ति र प्राविधिक कठिनाइका कारण पूर्णरूपमा सेवा पनि सञ्चालन गर्न सक्ने अवस्था छैन। आईसीयू भेन्टिलेटर तत्काल सञ्चालन गर्न त निकै कठिनाइ छ’, घिमिरेले भने।
सरकारी अस्पतालमा मात्र नभएर जिल्लामा निजी तवरबाट सञ्चालनमा रहेका अस्पतालहरूले पनि आईसीयू र भेन्टिलेटरको सेवा सञ्चालन गर्न सकेका छैनन्। जिल्लामा आधा दर्जनभन्दा बढी निजी अस्पतालहरू सञ्चालनमा छन्। कावासोतीमा रहेको जिवन सिटी अस्पतालका सञ्चालक जिवन सापकोटाले दक्ष जनशक्ति अभावका कारण आफूहरूले आईसीयू सञ्चालन नगरेको बताए। उनले भने, ‘आईसीयूको सञ्चालन खर्च बढी छ, दक्ष जनशक्ति पनि छैन। यसले गर्दा आईसीयू सञ्चालन गर्न कठिनाइ भएको हो।’ उनले अहिले जिल्लामा आईसीयू कक्षको आवश्यकता बढेको भन्दै अब आईसीयू सञ्चालनमा ढिला गर्न नहुने बताए। जिल्लामा परीक्षणका लागि अहिलेसम्म सिटिस्क्यान मेसिन र एमआरआईसमेत छैन।
जिल्ला स्वास्थय कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र सिंहले जिल्लामा आईसीयू सञ्चालनका लागि आफूले पहल गर्ने बताए। ‘आईसीयू सञ्चालनका लागि पूर्वाधार र जनशक्ति प्रमुख कुरा हो, अहिले जिल्लामा त्यो दुबै छैन। आईसीयू सञ्चालन गर्न कठिनाइ छ’, उनले भने। जिल्ला अस्पतालको भवन निर्माण सम्पन्न भएपछि आईसीयू सञ्चालन गर्न पहल गरिने बताउँदै उनले भने, ‘आईसीयू सञ्चालन गर्नुपूर्व सबै पूर्वाधार आवश्यक छ, पूर्वाधार बन्दै छन्। त्यसपछि हामी पहल गर्छौं।’ उनले तत्काल आईसीयू सञ्चालन गर्न सम्भव नभएको बताए।
२०७८ सालको जनगणना अनुसार यहाँको जनसंख्या ३ लाख ७८ हजार ७९ जना रहेको छ। सुगम मानिने यस जिल्लामा अहिलेसम्म पनि आईसीयूलगायत महत्वपूर्ण सेवाहरू सञ्चालन हुन नसक्दा नागरिकहरू मर्कामा परेका छन्। जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जिल्लामा आईसीयूलगायत महत्वपूर्ण सेवा नहुनु निकै गम्भिर विषय भएको भन्दै जनप्रतिनिधिको हैसियतले यसबारेमा आफूले तत्काल पहल थाल्ने बताए।