जनकपुरको लगातार तेस्रो जित, पोखरा फेरि पराजित
काठमाडौं : जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। यससँगै पोखरा दोस्रोपटक पराजित बन्न पुगेको छ।
पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराएको जनकपुरले दोस्रो खेलमा कर्णालीलाई पनि ८ विकेटले नै हराएको थियो। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा १४३ रन बनाउँदै जित निकालेको हो।
जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा ८ चौका सहित ४५ रन बनाए। उनले ओपनर आसिफ शेखसँग ७२ रनको अर्धशतकीय साझेदारी गरे। उनलाई माइकल लिस्कले ९.५ ओभरमा सागर ढकालको हातबाट क्याच आउट गराए।
पहिलो विकेटको रुपमा २.१ ओभरमा कप्तान अनिल शाह ३ बलमा १ रन बनाउँदै विपिन खत्रीको बलमा एलबीडब्ल्यु आउट भए। जनकपुरको लागि दोस्रो विकेटका रूपमा लाहिरु मिलान्थाको विकेट गयो। जनकपुरको तेस्रो विकेट आसिफ शेखको रूपमा गयो। उनले ३४ बलमा ३ चौकासहित ३३ रन बनाएर कुशल भुर्तेलको बलमा काउ कर्नरको बाउन्ड्रीमा विपिन खत्रीको हातमा क्याच भए।
जेम्स निशाम ४० र हर्ष थाकर १३ रनमा अविजित रहे। जेम्सले २० बलमा ५ छक्कासहित ४० रन बनाए भने हर्षरले १४ बलमा १ चौका सहित १३ रन बनाए। पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १/१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो। पोखराका लागि माकर्स क्रिच्लेले सर्वाधिक ३५ रन बनाए।
त्यस्तै दिनेश खरेल १० रन, कुशल भुर्तेल, दिलिप नाथ ११ रन, माकर्स किच्ले ३५ रन, र्यामन रेफर १७ रन, माइकल लिस्क २५ रन बनाउँदा रनारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे। जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। जेम्स निसामले २ र किशोर र मोहम्मद मोसिनले १/१ विकेट लिए।
बिहीबारको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र काठमाडौं गुर्खाजबीच हुनेछ।