कानुन संशोधन गरेर लगानीको वातावरण बनाउँछौं : अर्थमन्त्री पौडेल
भैरहवा : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुद्घाटन गर्दै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गरेका हुन्।
उनले पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए। वर्तमान सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउने उनले बताए। निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर रहेको उनको भनाइ थियो।
उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा सरकारले विशेष ध्यान दिने उल्लेख गरे।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महोत्सवले आर्थिक अवस्थालाई बलियो बनाउने विश्वास व्यक्त गरे। नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी पुस १ गतेसम्म सञ्चालन हुने बताइएको छ। करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।