अस्पताललाई एन्टिरेबिज खोप हस्तान्तरण
नुवाकोट : नुवाकोटको विभिन्न बजार तथा आसपासका क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ। विदुर नगरपालिका तथा आसपासका क्षेत्रभित्र सार्वजनिक स्थानमा भुस्याहा कुकुरको बिगबिगी बढिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
बजारका केही स्थानहरूमा मानिसहरूलाई आक्रमण गर्नुका साथै टोकिरहेको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले बताए। भुस्याहा कुकुरको बिगबिगी भई सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि यसको नियन्त्रणमा विदुर नपाले सक्रियता देखाएको छ। नुवाकोटमा एन्टी रेबिज खोप (भ्याक्सिन)को अभावमा बिरामीलाई सेवा दिन समस्या भएको स्वास्थ्यकर्मीहरूको गुनासो रहेको छ।
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा एन्टी रेबिज भ्याक्सिनको अभावले उपचार गर्न समस्या भएपछि अस्पतालबाट माग भएअनुसार विदुर नपाको तर्फबाट माग बमोजिम भ्याक्सिन प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ। त्रिशूली अस्पताललाई ४० डोज एन्टी रेबिज भ्याक्सिन विदुर नपाका मेयर राजन श्रेष्ठले त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामालाई हस्तान्तरण गरे।