कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंसिर २४ गते बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिए।
उनका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्नेछ। बैठकमा स्थानीय तह उपनिर्वाचन र पछिल्ला राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्री ओलीको मंसिर १७ देखि २० गतेसम्म भएको चीन भ्रमणका क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कमा भएको हस्ताक्षरबारे कांग्रेसले आधिकारिक धारणा बनाउने बताइएको छ।
कांग्रेस र एमालेले तयार पारिएको फ्रेमवर्कको मस्यौदामा अनुदानमा बीआरआई कार्यान्वयन गर्न सकिने उल्लेख थियो। तर, चीनले अनुदानमा मात्र बीआरआई कार्यान्वयन गर्न नसकिने बताएपछि फ्रेम वर्कमा नेपालले लेखेको अनुदान शब्दलाई हटाएर सहायता शब्द राख्ने सहमति जुटेपछि हस्ताक्षर भएको थियो। बीआरआईमा ऋण/सहायता दुवै अर्थ लाग्नेगरी हस्ताक्षर भएको भन्दै कांग्रेसका एकथरी नेताहरूले आपत्ती जनाएका छन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितका पदाधिकारी एव सदस्यहरूलाई बोलाइएको छ।