काठमाडौं : पुनः नियुक्तिको लागि लबिङ गर्ने पुराना पदाधिकारीलाई पन्छाउँदै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको पदाधिकारीमा नयाँ अनुहारलाई ‘सर्ट लिस्ट’ गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मि श्र संयोजकको सिफारिस समितिले दुवै आयोगका पदाधिकारीका लागि शुक्रबार ‘सर्ट लिस्ट’ गरेको हो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाअनुसार अध्यक्षमा ८ जनाको नाम सिफारिस गरिएको छ । छनोट सूचीमा रहेकाहरूमा डिल्लीराज आचार्य, शेरबहादुर केसी, काशीराज दाहाल, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदीप पाठक र महेश थापा छन्् । स्रोतका अनुसार, अध्यक्षमा ८ र सदस्यमा ३२ जनाको नाम छनोट गरिएको छ । सदस्य छनोटमा समावेशितालाई समेत ध्यान दिइएको छ ।
आयोगमा नियुक्तिको लागि योग्य व्यक्तिहरूको संक्षिप्त सूची शनिबार प्रकाशन गरिने समितिका प्रवक्ता खम्मबहादुर खातीले जानकारी दिए । प्रवक्ता खातीका अनुसार, अध्यक्ष र सदस्यमा सिफारिस भएका ४० जना व्यक्तिहरूको मानव अधिकार, शान्ति, कानुन, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको पृष्ठभूमि रहेको छ ।
पूर्वप्रधानन्यायाधीश मि श्र संयोजकत्वको सिफारिस समितिमा मनोज दवाडी, अर्जुनबहादुर कार्की, स्टेला तामाङ र खम्मबहादुर खाती सदस्य छन्् । समितिले सर्वसम्मत रूपमा नामहरू सिफारिस गरेको जनाइएको छ ।
सार्वजनिक प्रतिक्रिया लिइने
समितिले यस पटक सिफारिसका क्रममा न्याय र मानव अधिकारको क्षेत्रमा काम गरेका व्यक्तिलाई बढी प्राथमिकता दिएको पाइएको छ । सिफारिसमा सूचीमा परेका व्यक्तिहरूको पृष्ठभूमि, कार्यशैली र व्यवहारका बारेमा सार्वजनिक प्रतिक्रिया लिइने भएको छ ।
समितिका प्रवक्ता खातीका अनुसार, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको, मानव अधिकारको गम्भीर उल्लंघनसम्बन्धी कसुरमा सजाय पाएको, सशस्त्र द्वन्द्वमा संलग्न रहेको हो ÷होइन भनी सार्वजनिक प्रतिक्रिया लिइनेछ ।
मंसिरमै नियुक्ति
सार्वजनिक प्रतिक्रियासमेतको आधारमा उपयुक्त देखिएको व्यक्तिलाई दुवै आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिको लागि सिफारिस गरिने प्रवक्ता खातिले बताए । ‘यही मंसिर महिनाभित्र नै नियुक्तिको लागि सिफारिस गर्ने तयारी छ,’ उनले भने । नियुक्त हुने अध्यक्ष र सदस्यको पदावधि चार वर्षको हुनेछ ।