सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य
काठमाडौं : ओपनर सैफ जैबको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
शनिबार टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको छ।
जैफले अर्का ओपनर विनोद भण्डारीसँग ४९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई बलियो सुरुआत दिलाएका थिए। त्यस्तै उनले दोस्रो विकेटका निम्ति ब्रान्डन म्याकमुलमसँग ५६ रनको साझेदारी गरेका थिए। विनोदले सुदूरपश्चिमको खातामा १७ रन थपे। रोहितुकमार पौडेलले गरेको सातौँ ओभरको तेस्रो बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले १३ बलमा दुई चौका प्रहार गरे।
ब्रान्डन म्याकमुलमले २० बलमा एक छक्का र एक चौकासहित २३ रन बनाए। म्याकमुलमलाई १३.४ ओभरमा विवेक यादवले साद बिन जफरबाट क्याच गराएका थिए।
तेस्रो विकेटका रुपमा सैब जैबको विकेट पतन भयो। चौथो विकेट पाँचौं ब्याटरका रुपमा मैदानमा आएका आरिफ शेख गोल्डेन डक भए।
सुदुरका लागि दिपेन्द्र सिंह ऐरी ३९ रनमा अविजित रहे। भने अर्का ब्याटर स्कट कुग्गेलिन ११ रनमा अविजित रहे। लुम्बिनीका लागि रेमोन सिमोन्डले २ विकेट लिए भने रोहित पौडेल र विवेक यादवले १/१ विकेट लिए।
प्रतियोगितामा दुवै टिमको आज तेस्रो खेल हो। एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ। लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो। सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो।