पावरप्लेमै लुम्बिनीका आधा ब्याटर पभेलियन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले पहिलो पावर प्लेमै शीर्ष क्रममा पाँच ब्याटरलाई गुमाएको छ।
शनिबार टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरको खेल सकिँदासम्म शीर्ष क्रममा पाँच ब्याटरलाई गुमाइ ३६ रन बनाएको छ।
लुम्बिनीका ओपनर अर्जुन साउद ‘गोल्डेन डक’ भए। अर्का ओपनर उन्मुक्त चन्द पनि चार रनमै पभेलियन फर्किए। यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका कप्तान रोहितकुमार पौडेलले पनि आज पाँच रनमात्रै थप्न सके। टम मुरेसले सात रन जोडे। साद बिन जफर पनि ‘गोल्डेन डक’ भए।
लुम्बिनीबाट हाल क्रिजमा रहेका सन्दीप जोरा १० र विवेक यादव ६ रनमा खेलिरहेका छन्। सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले तीन र स्टक कुग्गेलेनले दुई विकेट लिएका छन्। त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो।