निर्माण क्षेत्रलाई सरकारले प्राथमिकता दिएको छ : मन्त्री दाहाल
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिन सरकारले प्राथमिकता दिएको बताएका छन्। १७ औ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरीको त्रिपुरेश्वरमा उद्घाटनका क्रममा उनले अधुरा योजनाहरूलाई समयमा नै पूरा गराउने प्रमुख प्राथमिकता रहेको बताएका हुन्।
निर्माण व्यवसायीलाई दिन बाँकी भुक्तानी केही उपलब्ध गराइएको भन्दै बाँकी रकम समेत आउँदा साता निकासा हुने उनको भनाइ थियो। निर्माण क्षेत्रमा देखिने सुस्तताले नागरिक निराश हुने भएकाले सबै तिर उत्साह जगाउने गरी काम गर्न उनले निर्माण व्यवसायीहरूलाई आग्रह समेत गरे। नीतिगत र कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन नदिने उनको प्रतिबद्धता थियो।
कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशलाई समृद्ध बनाउन निर्माण क्षेत्रलाई गति दिन जरुरी रहेको बताए। यसका लागि सरकारले कतिपय नीतिगत र कानुनी व्यवस्थामा सुधार गर्न खाँचो रहेको बताए। महासंघले निर्माण दिवसको अवसर पारी प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको महासचिव रोशन दाहालले बताए।