दशौं नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्कालाई
काठमाडौं : दशौं नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन्।
शनिबार भएको म्याराथन अन्तर्गत ४२ दशमल १९५ किलोमिटर दूरीको दौडमा उपाधिसँगै खड्काले दुई लाख रुपैयाँ पुरस्कार हात पारेका छन्। नेपाली सेनाकै राजन रोकाय द्वितीय र सेनाकै सुशील कुमार शाही तृतीय भएका छन्।
द्वितीय भएका रोकायले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने तेश्रो स्थान प्राप्त गरेका शाहीले ५० हजार रुपैयाँ पाए। २१ किलोमिटर हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन्।
उनले लगातार चौथो पटक उपाधि जितेकी हुन्। एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै सागकी स्वर्णपदकधारी श्रेष्ठले फेरि उपाधि जितेकी हुन्। सुर्खेतकी विमला कार्की तृतीय भइन्। प्रथम भएकी सन्तोषीले ७५ हजार, द्वितीय भएकी पुष्पाले ५० हजार र तृतीय स्थान हासिल गरेकी विमलाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भएको म्याराथन कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि समापन भएको थियो।