बीआरआई सम्झौतामा ऋण लिने उल्लेख छैन, नेपालमा बुझ्दै नबुझी टिप्पणी भइरहेका छन् : परराष्ट्रमन्त्री

बीआरआई सम्झौतामा ऋण लिने उल्लेख छैन, नेपालमा बुझ्दै नबुझी टिप्पणी भइरहेका छन् : परराष्ट्रमन्त्री
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकार र चीनबीच बिआरआइ सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट पारेकी छन्। इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आईसिजे)मा को कार्यक्रममा सहभागी हुन नेदरल्याण्ड्स् प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उनले बीआरआईको फ्रेमवर्कमा भएको हस्ताक्षरप्रति नेपालमा बुझ्दै नबुझी टिप्पणी भइरहेको बताएकी हुन्।

उनले भनिन्, ‘हामीले बीआरआइअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेका हौँ, ऋण लिने भन्ने कुरा कतै छैन ।’

बीआरआई सम्झौता अनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढाइने विषय स्पष्टसँग लेखिएकाले नेपालको सहमतिअनुसार नै सम्झौता अघि बढ्ने पनि उनले जानकारी गराइन्। उनले भनिन्,‘ऋण लिने भन्ने कुरा त लिने पक्षको मञ्जुरी र आग्रहमा हुने हो नि । हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबर्जस्ती गर्छ त ? त्यसैले सरकारले ऋण लिने गरी सम्झौतामा हस्ताक्षर गर्यो भन्नु बचपना मात्र हो ।’

नेपालले चीनसँग बीआरआई सम्झौता अन्तर्गत अनुदानमा परियोजनाहरू निर्माण गर्ने गरी हस्ताक्षर गरेको र त्यो पनि सुरक्षा या अन्य कुनै विषयमा नभएर ‘ग्लोबल डेभलपमेण्ट इनिसिएटिभ्स्’ अन्तर्गत सहमति गरेको उनको दाबी छ।

‘नेपाल अहिले ऋण लिन सक्ने अवस्थामा छैन भन्ने कुरा आफूले चिनियाँ विदेश मन्त्रीसँग पनि राखेको थिएँ। चीनसँग यस विषयमा सहमत भएपछि निकै मेहनत गरेर नेपालले बीआरआइ अन्तर्गत नै कोअपरेसन फ्रेमवर्क निर्माण गरी दुवै पक्षको सहमति अनुसार हस्ताक्षर भएको हो’,उनले भनिन्।

उनले बीआरआइअन्तर्गत नेपालले चीनसँगको व्यापार, हवाई एवं स्थलगत कनेक्टिभिटी, पूर्वाधार निर्माण तथा आर्थिक सहायता जस्ता विषयलाई प्राथमिकतामा राखेको बताइन्।

मन्त्री डा. राणा अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र नेपालले पाउनुपर्ने क्षतिपूर्तिबारे कुरा उठाउन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक नेपालमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था र धारणा राख्न लागेको हो । 

विश्वका धनी तथा विकसित मुलुकहरुले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा मन्त्री डा. राणाले यही मङ्सिर २४ गते विषय उठान गर्नेछिन्। 

उनको प्रतिनिधिमण्डलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.