राजनीतिक कोर्ष बदल्ने बेला भएको छ, शासकीय स्वरूप र निर्वाचन प्रणाली फेरौं : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन्। माओवादी केन्द्र गोरखा-काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने बताएका हुन्।
आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उनले अब त्यो बेला आएको बताए । प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन विज्ञ मन्त्री बन्ने व्यवस्थामा गएर मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा व्यक्त गरे।
उनले अरु दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमान्दार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुँदै जानु निकै महत्त्वपूर्ण पक्ष रहेको बताए । प्रचण्डले विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने बताए । पार्टीको वैचारिक र नेतृत्वको केन्द्रीकरणले आगामी समाजवादी अभियान अघि बढाउन सम्भव हुने उल्लेख गर्दै उनले विभिन्न धारामा बाँडिएका शक्ति बीचको एकतालाई जोड दिएर लैजानुपर्ने बताए ।
जनयुद्धको तयारी, थालनी, सञ्चालन हुँदै पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको उनले स्पष्ट गरे । अध्यक्ष प्रचण्डले देशभर निरासा छाएको बेला २०७९ मा नौ वटा स्थानीय तह जितेर इतिहास बनाएको गोरखाले अहिले उपनिर्वाचनमा पनि हारेको ठाउँमा जितेर नयाँ इतिहास कायम गरेको बताए ।