जनतामा निरासाको खेती गर्नेका कारण समाजमा अराजकता बढ्यो : महासचिव पोखरेल
दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा निरासाको खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेको दाबी गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका-१९ को प्रशासनिक भवनको उद्घाटन गर्दै उनले देश बलियो बनाउनका लागि बलियो शक्तिको आवश्यकता रहेको बताएका हुन्।
उनले विगतभन्दा वर्तमान धेरै उपलब्धि प्राप्त भएको बताए। लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्रीसमेत रहेका पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएको दाबी गरे।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका अब १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको जानकारी दिए। यसै महिनामा कृषि,पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेको छ। वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्रे सुरुवात गरिने तयारी छ। तुलसिपुर उपमहानगरपालिकाको -१९ तोप्पापानीमा २०७४ सालमै शिलान्यास भएपनि निर्माण कार्य अधुरो रहेको थियो।