गाउँवासीमाझ प्रहरी प्रशासन
नुवाकोट : नुवाकोटका प्रहरी तथा प्रशासन गाउँवासीमाझ पुग्न थालेको छ। सर्वसाधारणको विभिन्न गुनासा तथा समस्या बुझ्नका लागि प्रहरी प्रशासनले गाउँ सुन्ने अभियान सञ्चालन गरेको छ।
सोही अन्तर्गत नुवाकोटको पूर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका-२ कुमरीमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा नागरिक समस्या सुनुवाइ सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सर्वसाधारणको विविध समस्या प्रत्यक्ष रूपमा सुनेर नागरिकसँग अन्तरक्रियासमेत गरेका छन्।
गाउँवासीले शिक्षा, स्वास्थ्य, पिउनेपानी तथा प्रशासनिक सेवाका सम्बन्धमा गुनासा तथा मागहरू राखेका थिए। बेलकोटगढी नगरपालिका र नुवाकोटमा भएको अपराध, दुर्घटना तथा कानुनको सम्बन्धमा अन्तरक्रिया गरिएको प्रजिअ रामकृष्ण अधिकारीले बताए।
गाउँ समाजमा प्रहरीको काम, कर्तव्य र क्षेत्रका बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा सर्वसाधारण, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट प्रहरी प्रशासनको काम कारबाहीका सम्बन्धमा चासो राखेका थिए।
सहभागीहरुले दिएका सुझाव, जिज्ञासा र गुनासोको बारेमा प्रहरी उपरीक्षक शान्तिराज कोइराला र प्रजिअ रामकृष्ण अधिकारीले आगामी दिनहरूमा प्रहरी प्रशासनबाट गरिने कार्य सम्पादन प्रभावकारी ढंगबाट सम्पादन गरिने प्रतिबद्धतासहित नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो।