भगवानको विवाह देख्न पाउनु अलौकिक अनुभव : इजरायली राजदूत बास
प्रसिद्ध विवाहपञ्चमी महोत्सवमा सहभागी भएका नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले यो आफ्नो जीवनको निकै अनौठो र रमाइलो अनुभव रहेको बताएका छन्।
शनिबार सञ्चारकर्मीसँग जनकपुरमा कुराकानी गर्दै राजदूत बासले भने, ‘मैले यो कहिल्यै कल्पनासमेत गरेको थिएन कि एकदिन भगवानको बिहेमा सहभागी हुन पाउने छु। भारत र नेपालबीचको सांस्कृतिक सम्बन्धको साक्षी बन्न पाउँदा मलाई निकै खुसी लागेको छ।’
जानकी मन्दिरको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वनगरप्रमुख बजरंग साहद्वारा विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आमन्त्रण पाएपछि जनकपुर आएका राजदूत बासले मधेस प्रदेशका लागि इजराईल सरकारद्वारा विशेष खालका कार्यक्रमहरू ल्याउन आफूले पहल गर्ने जानकारीसमेत गराए। उनले आफ्नो भ्रमणका क्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहसँग समेत भेटघाट गरेका हुन्।
जनकपुरमा मिथिला भोजन गर्दै इजरायली राजदूत र उनकी श्रीमती।