एनपीएल नेपाली खेलकुदकै कोसेढुंगा बन्न सक्छ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली खेलकुद क्षेत्रकै ऐतिहासिक प्रतियोगिता हो। नेपाल क्रिकेट संघ (क्यान) मा चतुरबहादुर चन्दको नेतृत्व आएपछि एनपीएलजस्तो बृहत प्रतियोगिता सम्भव भएको हो।
यसअघि पनि फ्रेन्चाइज रुपमा क्रिकेटका विभिन्न प्रतियोगिता आयोजना भए पनि एनपीएलजस्तो भव्य र सव्य प्रतियोगिता भएको देखेको थिइनँ। यसका लागि चतुरबहादुर चन्द नेतृत्वको टिमलाई धन्यवाद दिनै पर्छ। विश्वका १५ राष्ट्रका झन्डै चार दर्जन खेलाडी नेपालमा आएर खेलेको यो पहिलो पटक हो। त्यसैले पछिल्लो समयमा टिम गेम्समा क्रिकेटले जुन छलाङ मारेको छ, यो उदाहरणीय छ। यसले नेपाली खेलकुद क्षेत्रमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमै पनि चर्चा बटुल्न सफल भएको छ।
कमनवेल्थ राष्ट्रमा क्रिकेटको लोकप्रियता धेरै छ। अन्य खेलको तुलनामा ती राष्ट्रमा क्रिकेटको चर्चा बढी नै हुने गर्दछ। हाम्रो छिमेकी मुलुक भारतमा झन् क्रिकेटको लोकप्रियता र यसको ख्याति भिन्न किसिमको छ। त्यहाँ क्रिकेटका लागि मरिहत्ते गर्ने ठूलो जमातै छ। त्यहीँको प्रभावले नै नेपालमा पनि क्रिकेटको विकास भएको हो भन्दा अन्यथा हुँदैन। क्रिकेटले जुन रुपमा लोकप्रियता र ख्याति कमाएको छ, त्यो अनुरुप पूर्वाधार विकासको काम भने हुन सकेको छैन। क्रिकेटले हासिल गरेको उपलब्धि र लोकप्रियतालाई हेरेर सरकारले अब पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिनु आवश्यक छ।
बागमती प्रदेशले क्रिकेट रंगशाला निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ। प्रदेश सरकारले चितवनको गौतम बुद्ध र गौरीटारको रंगशाला निर्माणमा लगानी गरेको छ। गौरीटार रंगशालामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता नै गर्न सक्ने अवस्था छ। यहाँ पेभिलिएन निर्माण र माटो भर्ने काम भइरहेको छ भने बरमुडा दुबो लगाउने काम पनि सँगसँगै भइरहेको छ। यसैगरी गौतम बुद्ध रंगशालालाई ७० प्रतिशत बजेट दिने निर्णय प्रदेश सरकारले गरेको छ। त्यही अनुरुप पहिलो किस्ताको रकम पठाइसकेका छौं।
फ्रेन्चाइज लिगले नेपालमा क्रिकेटको क्रेज ह्वात्तै बढाएको छ। अझ कर्पोरेट क्षेत्रको प्रवेशले त क्रिकेटले भिन्नै उचाइ हासिल गरेको छ। क्रिकेटले जस्तै अन्य खेलले पनि कर्पोरेट क्षेत्रलाई भित्र्याउन सक्यौं भने नेपाली खेलकुदले फड्को मार्ने निश्चित छ। एनपीएलका खेल टेलिभिजनमा हेर्न पनि आनन्द लाग्छ। हाम्रा खेलाडीले पनि राम्रो खेलिरहेका छन्। विदेशी खेलाडीका कारण एनपीएलको रौनकता भिन्दै छ। दर्शकहरूको उपस्थितिले पनि अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेको छ। फ्रेन्चाइज टोलीलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ। केन्द्र सरकारले खेलाडीको श्रम स्वीकृतिलगायतमा सहयोग गरेको छ। आगामी दिनमा तीनै तहका सरकारले सहयोग गर्नुपर्छ।
त्रिवि मैदान नेपालको एक मात्रै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हो। यसको स्तरोन्नति गर्नै पर्छ, त्यसको विकल्प छैन। तर, त्रिवि मैदानको छुट्टै सुन्दरता पनि छ। प्राकृतिक रुपमा यसको भिन्दै विशेषता छ। समथल भागमा प्यारापिट बनाउनुको विकल्प हुँदैन। तर, त्रिवि मैदानको भौगोलिक अवस्था भिरालो भएकाले त्यसमा प्यारापिट नै बनाउनुपर्छ भन्ने छैन।
वर्षातको समयमा ओत लाग्ने संरचना मात्रै बनाउन सक्यौं भने पनि राम्रो हुन्छ। रुखमै चढेर खेल हेर्नुपर्ने अवस्था चाहिँ राम्रो होइन। तर, त्यसैको प्रचार धेरै भइरहेको छ। दर्शकलाई सहज रुपमा खेल हेर्न सक्ने वातावरण मिलाइदिएमा धेरै राम्रो हुन्छ। त्रिवि मैदानमा फर्डलाइट जडानको काम पनि हुन बाँकी छ। अर्को कुरा पूर्वाधार निर्माण गरेर मात्रै हुँदैन। त्यसको संरक्षण पनि गर्नुपर्छ।
अर्को कुरा नेपालको खेलकुद नीति पनि राज्य सुहाउँदो छैन। खेलकुदका बारेमा राजनीतिक नेतृत्वलाई बुझाउन नसक्दा पनि यो अवस्था आएको हो। त्यही कारण खेलकुदका विषयमा राज्य संयन्त्रलाई बुझाउनु आवश्यक छ। हाम्रो नीति साँच्चिकै खेलकुदको हितमा हुनुपर्छ। टालटुले र अल्पकालीन नीतिले ‘स्कुल टु ओलम्पिक’को यात्रा गर्न कठिन छ। त्यसैले टालटुले नभई दीर्घकालीन सोच लिएर नै हामीले खेलकुद नीति बनाउनु आवश्यक छ।