झापामा वृद्धाको हत्या, दुईजना पक्राउ
झापा : चापाकलको ह्याण्डिल र फरुवा प्रहार गरी झापामा एक वृद्धाको हत्या गर्ने दुईजना पक्राउ परेका छन् । झापा गाउँपालिका–६ स्थित पुष्पाञ्जली टोलकी ८१ वर्षीया फूलमणि सोरेनको हत्या आरोपमा झापा गाउँपालिका– ७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका–७ का २४ वर्षीय अशोक यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
उनीहरू वृद्धा सोरेनका हत्या गरी शवलाई गाईबस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेर फरार भएका थिए । घरका अन्य सदस्य मकै रोप्न गएका बेला सोरेनको हत्या गरिएको थियो । शव शनिबार दिउँसो साढे ४ बजे फेला परेको परेको थियो । घरमा चोरी गर्न उद्देश्यले पुगेका उनीहरुले वृद्धाको टाउको र चिउँडोमा कलको ह्याण्डिल र फरुवा प्रहार गरी हत्या गरिएको डीएसपी चन्दले बताए ।
घटनापछि नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट आएको कुकुरसहितको प्रहरी टोलीको सहयोगमा अनुसन्धान गर्दा उनीहरू झापा गाउँपालिका–७ मदरगाछबाट हिजै पक्राउ परेका थिए । प्रहरीले उनीहरूको साथबाट वृद्धाबाट लुटिएको एउटा मोबाइल र साइकलसहित हत्यामा प्रयोग गरिएको कलको ह्याण्डिल र फरुवा समेत बरामद गरिएको डीएसपी चन्दको भनाइ छ ।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।