अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लु काठमाडौं आइपुगे
काठमाडौं : दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । उनी भारतहुँदै काठमाडौं आइपुगेका हुन्।
सरकारले संसदबाट पास भइसकेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगस्टदेखि पूर्ण कार्यान्यवन गर्ने बताउँदै आएको छ। सोही विषयमा छलफल गर्न डोनाल्ड लु काठमाडौं आएका हुन्। नेपालमा रहँदा उनले एमसीसीका विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।
त्यस्तै उनले परराष्ट्र मन्त्रालयका अधिकारीहरू र राजनीतिक दलका नेता तथा मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
उनको भ्रमणबाट अमेरिका-नेपाल सम्बन्धलाई थप मजबुत बनाउने र वातावरणीय सुरक्षा,महिला सशक्तिकरण,सांस्कृतिक संरक्षण दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने विश्वास लिइएको छ। उनी भोलि नै फर्किने कार्यक्रम छ।
नेपालमा डोनाल्ड लुको यो तेस्रो भ्रमण हो। यसअघि उनी १२ मंसिर २०७९ र १ मंसिर २०७८ मा नेपाल भ्रमणमा आएका थिए। त्यतिबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।
उनले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुका साथै एमसीसी परियोजनाका विषयमा छलफल गरेका थिए। नेपालमा एमसीसी र एसपीपी लागू गर्ने विषयमा चर्को बहस चलिरहेका बेला उनले नेपाल भ्रमण गरेका थिए।
उनको भ्रमणलाई राजनीतिकरूपले अर्थपूर्ण मानिएको छ।