कोशी प्रदेशमा ४ वटा पदमार्ग निर्माणको सम्झौता, करिब अढाई अर्ब लगानी

कोशी प्रदेशमा ४ वटा पदमार्ग निर्माणको सम्झौता, करिब अढाई अर्ब लगानी
सुन्नुहोस्

विराटनगर : करिब अढाई अर्ब रुपैयाँ लगानी गरेर कोशी प्रदेशभित्र ४ वटा पदामार्ग निर्माण गर्ने सम्झौता भएको छ। पदमार्गमा आधारित ‘पर्यटन विकास परियोजना’अन्तर्गत स्वीस सरकारको सहयोगमा पदमार्ग निर्माण गरिने भएको हो। पर्यटनको नयाँ सम्भावना खोजी गर्दै २ अर्ब ४५ करोड ६१ लाख खर्च गरेर निर्माण गर्न लागिएको पदमार्गले प्रदेशका विभिन्न २९ वटा स्थानीय तह छुने छ। 

२०८५ साल साउनसम्ममा सम्पन्न गर्नेगरी पदमार्गमा आधारित ‘पर्यटन विकास परियोजना’ सञ्चालनका लागि प्रदेश सरकार र स्विस राजदूतावासबीच आइतबार सम्झौता भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतासँगै पदमार्ग निर्माणको शुभारम्भ भएको छ।

परियोजनाअन्तर्गत चियाबारी (इलाम-फिक्कल-श्रीअन्तु), फाल्गुनन्द (फिदिम-छिन्ताप्पु-सन्दकपुर-माइपोखरी-इलाम), लालीगुराँस (लुम्लिङटार-खाँदबारी-नुम-गुफाफोखरी-वसन्तपुर-जलजले-तीनजुरे-मिल्के) र मुन्धुम (तावाभन्ज्याङ-टेम्केडाँडा-चखेवा-डालसिंगे-धोद्रे-जलजले-हाँसपोखरी-साल्पापोखरी-मयुङडाँडा-सिलिचुङचुली) पदमार्ग निर्माण हुने प्रदेशको पर्यटन, वन तथा तथा वातावरण मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार विभिन्न जिल्लाका २९ वटा पालिका छुने पदमार्ग ४ हजार किलोमिटरको हुने छ।  परियोजनाका लागि स्विस सरकारले १ अर्ब ३५ करोड १५ लाख, संघीय सरकारले १९ करोड ९२ लाख, कोशी प्रदेश सरकारले ४५ करोड ८७ लाख र २९ वटा स्थानीय तहले ४४ करोड ६७ लाख लगानी गर्नेछन्। 

परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष रूपमा लाभ लिने मन्त्रालयले उल्लेख गरेको छ। पदमार्गको निर्माण तथा पुनः निर्माणका क्रममा ४ लाख दिन बराबरको रोजगारी सिर्जना गर्ने बताइएको छ। १ हजार जनालाई पर्यटन सम्बन्धी सीप विकासका लागि तालिम दिइने मन्त्रालयले जनाएको छ। 

पदमार्गमा होमस्टे, लज र अन्य आतिथ्य सेवाको विकास गर्ने लक्ष्य राखिएको छ। चार वर्षको अवधिमा आन्तरिक तथा बाह्य गरेर ७८ हजार पर्यटकले पदमार्ग क्षेत्र भ्रमण गर्ने अनुमान गरिएको छ। पदमार्गहरुमा पर्यटनसँग सम्बन्धित २ हजार नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। 

दुईपक्षीय सम्झौताका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा विकास र समृद्धिको मुख्य आधार पर्यटन भएको बताए। पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने र ४ वटा पदमार्ग पर्यटन क्षेत्रमा ‘गेम चेन्जर’ परियोजना बन्ने उनले बताए। ‘प्रदेशको सामर्थ्य, पहिचान र विकास नै पर्यटन हो,’ उनी भन्छन्, ‘विश्वलाई चिनाउनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हुने छ।’

२०८२ साललाई पर्यटन वर्ष घोषणा गरिएको बताउँदै कार्कीले पर्यटन वर्ष मनाउन पदमार्ग परियोजना महत्वपूर्ण हुने बताए। नेपालमा छिमेकी देशका १ प्रतिशत पर्यटकलाई आकर्षित गर्न सके १० वर्षमा धेरै परिवर्तन आउने उनको भनाइ छ। नकारात्मक विरोधलाई रोकेर पर्यटन क्षेत्रलाई धेरै माथि लैजान सकिने कार्कीले बताए। 

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल पदमार्ग परियोजनाले कोशी प्रदेशको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्। स्विस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा सहयोग गरिरहेको छ। 

स्विस राजदूत डा. डेनियल म्युउल्यीले पदमार्गमार्फत आर्थिक उन्नति, रोजगारी र अवसरहरूको खोजी हुने बताइन्। उनले संघीयतालाई बलियो बनाउनका लागि स्विस सरकार नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढेको उल्लेख गरिन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.