प्रधानमन्त्री ओलीले भने- कम्प्लेक्स विकासको नमुना हो, यहाँ आधुनिक सहर बन्छ
झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताएका छन्। एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सिर्जना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे।
विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे। उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गरेका छन्।
हरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार यो बिजनेस कम्प्लेक्स चार बिगाहा १६ कट्ठा क्षेत्रफलमा बनेको छ। यस कम्प्लेक्समा ९२६ वर्ग मिटरको भुईं तल्लासहित १८ वटा तला रहेका छन्। यस परियोजनाको अन्तिम लागत रकम एक अर्ब ६३ करोड ५४ लाख रहेको छ।
२०८० माघ २० गते सम्पन्न गर्नुपर्ने परियोजनाको ठेक्का चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष् र ओम साइराम जेभीले लिएका थिए। ‘यो भ्यूटावर नभई आन्तरिक र बाह्य पर्यटकीय भित्राउने झापासहित कोशी प्रदेशकै एउटा ठूलो बिजनेस कम्प्लेक्स हो,’ सचिव सिग्देलले भने, ‘यस कम्प्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, कर्पोरेट लगायतका भवनहरू निर्माण गरिएको छ।’
कम्प्लेक्सबाहिर बगैंचासहित ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पांग्रे सवारीसाधन पार्किङ गर्न सकिने उनको भनाइ छ।