संघीय निजामती सेवा ऐनबारे दफावार छलफल सुरु
काठमाडौं : संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ‘संघीय निजामती सेवा ऐन’ बारे राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल सुरु गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको विशेष पहलमा आज आइतबारदेखि सो विधेयकउपर छलफल प्रारम्भ गरिएको हो। विधेयकउपर आज संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिएको समितिका सभापति रामहरि खतिवडाले बताए।
बैठकमा मन्त्री गुप्ताले विधेयकको आवश्यकता र औचित्यबारे जानकारी गराउनुहुँदै विधेयकको मस्यौदामा व्यवस्था गरिएको केही नयाँ प्रावधान र विशेषताहरूबारे बताए। संवैधानिक व्यवस्था बमोजिम संघ, प्रदेश र स्थानीय तहको समग्र कर्मचारी प्रशासन र व्यवस्थापन गर्न तथा विद्यमान निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी मौजुदा व्यवस्थालाई संघीय शासन प्रणालीअनुरूप रूपान्तरण गर्न आवश्यक रहेको मन्त्री गुप्ताको भनाइ छ।
मन्त्री गुप्ताले संघीय निजामती सेवालाई राष्ट्र हित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्व, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रको रूपमा विकास गर्नेगरी ऐनको मस्यौदा तयार पारिएको जानकारी समितिलाई दिए।
उनका अनुसार विधेयकको मस्यौदा तयार गर्ने क्रममा पूर्वसामान्य प्रशासन मन्त्रीहरू, पूर्वसचिवहरू, संवैधानिक निकायका पदाधिकारीहरू, विज्ञ, ट्रेड यूनियनलगायत विभिन्न सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल गरी राय सुझाव लिनाका साथै सरोकारवाला पक्षहरूसँग विभिन्न चरणमा छलफल समेत गरिएको थियो।