पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा
जोमसोम : मुस्ताङको मार्फाले पर्यटकीय हबका रूपमा अघि बढाउन महत्त्वपूर्ण योगदान दिइरहेको छ। २०३० को दशकमा मुस्ताङमा स्याउखेती गर्ने प्रणालीको विकास भयो। जुन सुरुवात मार्फाबाटै भयो। सरकारले मुस्ताङका किसानलाई शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा ताजा तरकारी खेती गर्ने तरिका सिकाउन त्यही मार्फामा बागबानी शीतोष्ण कृषि स्थापना भयो।
त्यसको जगबाट मार्फाले सुरु गरेको स्याउ खेतीले मुस्ताङको पाँचवटै तह ढाकियो। तर, मार्फा स्याउ खेतीमा मात्रै सीमित रहेन। मार्फाले पर्यटन विकासको सम्भावनाको ढोका खोल्न विभिन्न माध्यमको सुरु गर्यो। जसले मार्फा स्याउको राजधानीले मार्फा होइन, जोमसोमपछिको दोस्रो पर्यटकीय राजधानी बन्दै जान थालेको छ।
मार्फाले कृषि र पर्यटनलाई एकसाथै अघि बढाइरहेको पाइन्छ। राष्ट्रिय गौरवको सडक (बेनी-जोमसोम-कोरला) सडक मार्ग विस्तारले मार्फा गाउँ ओझेलमा पर्छ कि भन्ने चिन्तामा रहेका त्यहाँका कृषि र पर्यटन व्यवसायीलाई सडक विकासले कुनै असर पारेन। मार्फा कृषि र पर्यटन दुवैमा अब्बल सावित भइरहेको छ। मुक्तिनाथ दर्शन र उपल्लो मुस्ताङ भ्रमण गरी फर्किएका आन्तरिक तथा बाह्य पर्यटकले मार्फा गाउँभित्र रम्न छुटाउँदैन। मार्फामा धार्मिक तथा सांस्कृतिक सम्पदा अवस्थित रहेकै कारण मार्फा पर्यटकका लागि छुटाउनै नहुने पर्यटक गन्तव्य बनेको हो।
सडकमार्ग हुँदा पैदल हिँडेर यात्रा गर्ने पर्यटक मार्फाको साँघुरो गल्ली हुँदै गन्तव्य छिचोल्नु पर्थ्यो। २०६० को दशकअघि नेपाली सेनाले गाउँको स्याउ बगैंचाभित्रबाट सडक खन्दा मार्फाली समुदायले व्यापक विरोध जनाए, अवरोध सिर्जना गरे। किनकी सडकले गाउँ ओझेलमा पर्छ र आफूहरूको रोजीरोटी खाने पेसामा धक्का पुग्छ भन्नेमा भयभीत थिए। तैपनि सेनाले मार्फाको अवरोध छिचोल्दै सडक खनेर छोड्यो। अहिले त्यही सडक ट्रयाकमा राष्ट्रिय गौरवको चिल्लो कालोपत्रे सडक विस्तार भइसकेको छ।
सडकले मार्फा गाउँ नै विस्थापित हुन्छ भन्ने ठानेका मार्फाले उनीहरूले त्यसबेला कल्पना गरेको भन्दा भिन्न सावित भएको छ। सडक स्तरोन्नतिले उनीहरूको पर्यटन व्यवसायमा झनै अकल्पनीय रूपमा वृद्धि गरिदियो। मुस्ताङ घुम्ने अधिकांश पर्यटकले मार्फा गाउँ नपसी सुखै पाउँदैनन्।
मुस्ताङको मार्फा गाउँको मुख्य चिनारी हो। त्यहाँका साँघुरो गल्ली र एकआपसमा जोडिएका ढुंगा र माटोले बनेका परम्परागत सांस्कृतिक घरको भौतिक संरचना। जसले मुस्ताङ भित्रिएका पर्यटकलाई मार्फा तान्न केन्द्रित गरिएको छ। बेनी-जोमसोम सडकमार्ग नजिकै करिब दुई सय मिटर पर मुस्ताङको ऐतिहासिक मार्फा बस्ती छ, जहाँ सयभन्दा बढी गुचमुच्च एकआपसमा जोडिएका घरहरू छन्।
बेनीबाट उकालो उक्लिएर ६५ किलोमिटर यात्रा तय गरेपछि मुस्ताङको घरपझोङ-२ मार्फा आइपुग्छ। मार्फाको दक्षिण गल्लीको मुहानबाट उत्तरतर्फ करिब ५ सय मिटर लामो साँघुरो गल्ली छ। गल्लीभित्रको दायाँबायाँ ठिङ्ग उभिएका ऐतिहासिक पुराना घरहरू छन्। त्यहाँको मुख्य गल्लीबाट गाउँभित्र पस्ने आधा दर्जन शाखा गल्ली पनि छन्। मार्फा गाउँभित्रको गल्ली र आसपासमा भूमिगत विद्युतीय लाइन विस्तार भइसकेको छ।
२०७६ सालमा घरपझोङ गाउँपालिकाले मार्फाको गाउँभित्र विद्युतीय जोखिम न्यूनीकरण तथा मार्फा गाउँको सौन्दर्यलाई जोगाउन विद्युतीय तार भूमिगत गरेको थियो। गल्लीभित्रका सबै घरहरूमा दायाँबायाँ बौद्ध धर्मसम्बन्धी लेखिएका लङ्ता झुन्ड्याइएका छन्। पर्यटक आगमन बढेसँगै पछिल्लो समयमा मार्फा गाउँलाई बेहुली झै सिँगार्न थालिएको छ।
मुस्ताङको मार्फामा स्वदेशी तथा विदेशीसमेत गरी दुई दर्जन बढी चलचित्र र म्युजिक भिडियो छायांकन भएर प्रदर्शन भइसकेका छन्। यिनै चलचित्रहरूको छायांकनले पनि मुस्ताङको मार्फा गाउँको चर्चा चुलिएको हो। मार्फाको साँघुरो गल्लीमा पर्यटकीय गुल्जारले काठमाडौंका झल्को दिने गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताउँछन्। मुस्ताङ भित्रिएका शतप्रतिशत पर्यटकले मार्फाको पुरानो गाउँ चहार्ने गरेको अध्यक्ष लालचनको भनाइ छ। ‘बेलुकी साँझ परेपछि मार्फा गल्लीभित्रमा पर्यटकहरू रमाइरहेका हुन्छन्, साँघुरो गल्लीमा फोटो खिच्ने र टिकटक बनाउनेको ताँती हुन्छ, अध्यक्ष लालचनले सुनाए, मार्फा गाउँ त ठमेल जस्तै भइसक्यो, विदेशी र नेपाली पर्यटक यहाँ आएपछि बेग्लै फरक अनुभूति लिएर फर्किन्छन्।’
मार्फाको मूल गल्लीभित्र अरू दुई शाखा भित्री गल्लीहरू अहिले पर्यटकका लागि निकै चर्चित छ। मार्फामा जेरी गल्ली र कबड्डी गल्ली नामका अलग/अलग गल्ली छन्। यी गल्लीका नाममा चलचित्रको नामबाट नामकरण गरिएको हो।
मार्फा गल्लीभित्र एक दर्जन बढी पर्यटक लक्षित होटल छन्। मुख्य राजमार्ग सडक आसपास पनि नयाँ होटलहरू थपिँदै छन्। मार्फामा तिब्बतीयन शरणार्थी नागरिकले समथिंक र तिब्बतीयन र थकाली पोशाकहरू भाडामा प्रयोग गर्न पाउने व्यवस्था गरेका छन्। त्यहाँको मौलिक पोशाक पहिरिएर फोटो खिच्ने र टिकटक बनाउने सेवाग्राहीको क्रेजले त्यहाँको वैकल्पिक आम्दानीमा थप टेवा पुर्याएको छ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफूले प्राप्त गर्ने सरकारी तलब भत्तालाई सामाजिक कार्यमा लगानी गर्ने क्रममा मार्फा गल्लीभित्रको बस्ती सडक बत्ती जडान गरी झलमल्ल पारेका छन्। पर्यटकीय यामको साँझको समयमा मार्फा गाउँको सौन्दर्यताले त्यहाँ पुग्ने पर्यटक मोहित हुने गरेको अध्यक्ष लालचनको भनाइ छ।
मार्फा गाउँको भित्री बजारमा पुराना ढुंगा र माटोले निर्मित परम्परागत घरहरू, त्यस्ता घरहरूको छतमाथि लस्करै दाउरा पाँजिएको सांस्कृतिक जीवन्त मौलिकता देख्न पाइन्छ। मार्फा गाउँमा ऐतिहासिक र पुरानो मार्फा सम्तेलिङ गुम्बा अवस्थित छ। मार्फामा जापाजिन जैन भिक्षु इकाइ कावागुची बसेको दुईतले घर छ। कावागुची भारत हुँदै त्यससमय नेपाल पसेका थिए। बौद्ध धर्म प्रचार र तिब्बती बौद्ध शुत्रको ज्ञान प्राप्त गर्ने सिलसिलामा कावागुची त्यस समय मुस्ताङ आएका थिए। उनी सन् १९०० ताका मुस्ताङ आएका थिए। यसैका कारणले पनि कावागुची बसेको घर विभिन्न खोज अनुसन्धान र अवलोकनका लागि चर्चित छ।
मार्फामा कृषि खोज अनुसन्धान तथा अवलोकनका लागि शीतोष्ण बागवानी विकास केन्द्र महत्त्वपूर्ण पर्यटक गन्तव्य बनेको छ। लटरम्म राताम्मे स्याउ बगैंचा मार्फाको अर्को आकर्षण हो। मुस्ताङको घरपझोङ गाउँपालिकाले गत वर्ष मार्फामा एप्पल पार्कसमेत निर्माण गरिसकेको छ। गाउँपालिकाकै पहलमा मार्फाको सुरुवाती र अन्तिम गल्लीमा मार्फा प्रवेशद्वारसमेत निर्माण गरेको छ। मुख्य राजमार्ग सडकमा भने पछिल्लो समय संस्कृति मासिने गरी आरसीसी पक्की होटलहरू बनिरहेका छन्।