रसुवागढी नाकाबाट सुनसहित एकजना पक्राउ
काठमाडौं : रसुवागढी नाकाबाट सुनसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ थुमनका ४१ वर्षीय मिङमार छिरिङ रहेका छन्। केरुङबाट रसुवागढी आउँदै गरेका उनलाई रसुवागढीबाट २४७.९७ ग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
इलाका प्रहरी कार्यालय टिमुर रसुवा, प्रहरी चौकी रसुवागढीबाट खटिएको टोली, रसुवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट एक थान बेरुवा औठी र कम्मरमा बाध्ने छालाको जस्तो देखिने कम्मर पेटी बेल्टको बकल सुन जस्तो देखिने पहेंलो धातुको बनाई बाहिर कालो रङ लेपन गरेर ल्याइरहेको सुन बरामद गरेको प्रहरीले जनाएको छ।
उक्त सुनको मूल्य झण्डै ३२ लाख पर्ने जनाइएको छ।