सुन्तलाको उत्पादन बढ्यो, किसानलाई फाइदा
प्यूठान : झिमरुक गाउँपालिका–४ चुँधाराका दुर्गाप्रसाद पोखरेललाई हिजोआज भ्याइनभ्याइ छ। बगैंचामा लटरम्म फलेका सुन्तला टिप्न भ्याइनभ्याइ भएको हो।
सुन्तला बेचेरै उनले मनग्य आम्दानी गर्ने गरेका छन्। ३२ रोपनी क्षेत्रफलमा उनको सुन्तला बगैंचा फैलिएको छ। ‘१० क्विन्टल बिक्री गरिसकें’, उनले भने, ‘गत वर्षभन्दा यस वर्ष धेरै फलेको छ, बिक्री हुँदैछ।’ आठ वर्षमै नेपाल प्रहरीको जागिरे जीवन छोडेर उनी सुन्तला खेतीमा लागेका हुन्।
गाउँ छोडेर बसाइँ सर्नेहरूका जग्गा किनेरै उनले सुन्तला खेती विस्तार गर्ने गरेका छन्। सुन्तला बेचेरै गत वर्ष ६ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए। उनको बगैंचामा र गाउँमा अहिले नयाँ र पुरानो गरी ३२ हजार ६ सय बोट छन्। ‘सुन्तला बिक्रीका लागि बजार खोज्दै हिँड्नु पर्दैन’, पोखरेलले अन्नपूर्णसँगको कुराकानीमा भने, ‘बाग्दुला, बिजुवारसँगै दाङको भालुवाङबाट व्यवसायीहरू सुन्तला लिन घरमै आउँछन्।’
चुँधारासँगै जिल्लाको तुषारा, छेपानेमा राम्रो सुन्तला खेती हुन्छ। फूल खेल्ने समयमा सिँचाइ सुविधा भएको ठाउँमा सुन्तला खेती राम्रो भएको झिमरुक गाउँपालिका–७ तुषाराका किसान मोहन जीसीले बताए। ‘फूल खेल्ने समयमा लामो समय खडेरी परेर फूल झर्यो’, उनले भने, ‘सिँचाइ सुविधा भएको ठाउँमा यस वर्ष सुन्तला राम्रो फलेको छ।’ उनले सिजनमा १ लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गर्ने गरेको सुनाए। ६० देखि ८० रुपैयाँ प्रतिकिलो थोकमा सुन्तला बिक्री हुने गर्दछ।
जिल्लाका विभिन्न स्थानमा लाग्ने मेलासम्म सुन्तला पुर्याउनका लागि वडा कार्यालयले सहयोग गरेपछि सुन्तलाले राम्रो मूल्य पाएको प्यूठान नगरपालिका–१० छेपानेका रविलाल रोकाले बताए। ‘मेलाहरूसम्म ढुवानीका लागि वडा कार्यालयले ट्याक्टर सहयोग गरेको थियो’, उनले भने, ‘फुटकरमै बिक्री गर्न पाएपछि यसपालि राम्रो मूल्य आयो।’
यस वर्ष जिल्लामा २ हजार ४ सय ६७ टन सुन्तला उत्पादन भएको एकीकृत कृषि तथ पशुपंक्षी विकास कार्यालय प्यूठानले जनाएको छ। गत वर्षभन्दा यस वर्ष १ सय ३२ टन बढी उत्पादन भएको कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले बताए। जिल्लाभर २ सय ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ।
सुन्तला र अमिला जातका फलफूलको उत्पादन जिल्लामा बढ्दै गएको कार्यालयले जनाएको छ। ‘किसानहरूले व्यावसायिक उत्पादनका लागि बिरुवा लगाएका छन्’, कार्यालय प्रमुख श्रेष्ठले भने, ‘फलफूल निर्यातको अवस्थामा पुग्ने अपेक्षा गरेका छौं।’