सिरियामा असद शासन अन्त्यको घोषणा

सिरियामा असद शासन अन्त्यको घोषणा

दमास्कस (एजेन्सी) : कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ। उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन्।

सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामीले दमास्कस सहरलाई स्वतन्त्र घोषणा गरेका छौं’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे।

दमास्कसबाट एएफपीले खिचेको तस्बिरमा विद्रोहीहरूले सूर्योदयको समयमा हवाई फायर गरेका, केहीले विजयको चिन्ह चम्काइरहेको र ‘अल्लाहु अकबर’ वा ईश्वर महान् हुनुहुन्छ भनी चिच्याइरहेको देख्न सकिन्छ।

तस्बिरमा कोही उत्सव मनाउन सेनाका बख्तरबन्द गाडीमाथि चढेका कोही असदका पिता हाफेजको ढलेको शालिकमा सुतेर तस्बिर लिइरहेको देखिएको छ।

दमास्कसका बासिन्दा आमेर बाथाले एएफपीसँग टेलिफोनमा कुराकानी गर्दै भने, ‘ म यो क्षणको प्रत्यक्षदर्शी बनिरहेको छु भनेर विश्वास गर्न सक्दिनँ। हामी यस दिनका लागि लामो समयदेखि पर्खिरहेका थियौं। हामी सिरियाका लागि नयाँ इतिहास लेख्न सुरु गर्दै छौं।’

इस्लामिक हयात तहरीर अल–शाम (एचटीएस) समूहले असद परिवारको पाँच दशकभन्दा लामो शासनलाई चुनौती दिँदै आफ्नो अभियान सुरु गरेको दुई हप्ता नबित्दै राष्ट्रपतिको कथित बहिर्गमन भएको बताइएको छ।

‘बाथ शासनमा ५० वर्षको उत्पीडन, १३ वर्षको अपराध र अत्याचार तथा जबर्जस्ती विस्थापनपछि हामी आज यो कालो समयको अन्त्य र सिरियाका लागि नयाँ युगको सुरुवातको घोषणा गर्दै छौं,’ विद्रोही समूहले टेलिग्राममा भनेका छन्।

सिरियाली प्रधानमन्त्री मोहम्मद अल जलालीले सिरियाली जनताले रोजेको कुनै पनि नेतृत्वसँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन्। 
बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भने, ‘राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नुभएको छ।’

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा भइरहेको ‘असाधारण घटना’लाई नजिकबाट नियालिरहेको ह्वाइट हाउसले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.