जसले देखे कृषिमा भविष्य
काठमाडौं :
कृषि क्रान्ति गरेका भोजबहादुर
३३ वर्षे भोजबहादुर तामाङ, युवा कृषकमा चर्चित नाम हो। कास्कीको माछापुच्छ्रे–४, लाहानचोकमा युवा कृषि उद्यमीका रूपमा परिचित छन्। उनको संघर्षको कथा उदाहरणीय छ। व्यवस्थापन विषयमा फस्ट डिभिजन गरे। तर, घरायसी समस्याका कारण स्नातक पढ्न सकेनन्। अनि, होटल तालिम लिएर ‘वेटर’ काम थाले, तर यसमा मन रमेन। आफैं केही गरौं भन्ने हुटहुटी जाग्यो। साथीभाइ र घरपरिवारसँग सरसापट खोजेर पोखरा इन्जिनियरिङ क्याम्पसमा रेस्टुरेन्ट चलाए।
त्यहाँबाट पनि खुसी मिलेन। त्यसपछि कुवेत गए, वेटरको काम गरे। त्यहाँ निकै खट्नुपथ्र्यो। उनलाई लाग्यो– त्यत्ति खटे त स्वदेशमै राम्रो गर्न सकिन्छ भनेर १० महिनामै फर्किए। त्यस बेला गाउँमा उनका ज्वाइँले टनेलमा तरकारी खेती गरिरहेका थिए। त्यो देख्दा उनमा पनि व्यावसायिक खेती गर्ने सोच पलायो। सुरुमा दिदीसँग मिलेर घलेगाउँमा जग्गा भाडा लिएर आठवटा टनेलमा तरकारी खेती सुरु गरे। तर, स्थानीयले अवरोध गरे।
‘तिमीले जस्तै खेती गर्न थाले भने यहाँका युवा कोही पनि विदेश जाँदैनन् अनि कसरी गरिखाने ? भनेर गाउँलेले हपारे,’ भोजबहादुरले सुनाए,‘स्थानीयको विरोधले झन् ईख पलायो। त्यसपछि १५ वटा टनेल थप गरेँ।’ तर, स्थानीयले टनेलमा भैंसी छोडिदिए, तरकारी खेती ध्वस्तै पारिदिए। उनको सबै लगानी डुब्यो। हिँड्दा पनि आफूलाई केही गर्ने डर लागेर खेती गर्न स्थान फेर्ने निर्णय गरे।
त्यसपछि अलि तलको बस्तीमा २३ वटा टनेल बनाए। त्यहीँबेला इजरायली सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमको ‘लोटरी’ पर्यो। तामाङको भाग्य बदलियो। ११ महिनाको तालिम उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। यसबाट उनले बोटबिरुवा, कृषि प्रणाली, प्रविधि र कसरी उद्यमी बन्ने भन्नेबारे सिके। समय पुगेपछि नेपाल फर्किए।
यसलगत्तै उनले पोखराको उत्तरी छेउमा रहेको लाहाचोकमा समुद्री सतहबाट १ हजार ७ सय ३० मिटरको उचाइमा रहेको आफ्नै घर आसपासमा खेती सुरु गरे। डाँडाको बस्तीमा धेरैले घर छोडेर बेँसीमा सरे, तर उनले भने अरूको जग्गा भाडामा लिएर करिब १०४ रोपनी (५.४ हेक्टर) जग्गामा एकीकृत खेती गर्दै आएका छन्। उनको आफ्नो जग्गा सात रोपनी मात्रै छ, बाँकी भाडामा लिएका हुन्।
तामाङले ग्रामीण घर अर्गानिक कृषि तथा पशुपन्छी फर्मको ६० प्रतिशत भागमा बाख्रापालनका लागि घाँस उत्पादन गरिरहेका छन्। ४० प्रतिशतमा तरकारी खेती लगाएका छन्। उनले बेमौसमी तरकारीसमेत उत्पादन गर्छन्, जसले राम्रो मूल्य पाउने गरेको उनले बताए। उनका सबै उत्पादन पूर्णतया अर्गानिक छन्। उनीसँग कीराको जाल र उचित सिँचाइको व्यवस्था छ। अझ उनले इजरायलमा तालिम लिएर फर्केपछि सीटीईभीटीको १८ महिने कक्षा लिएर कृषि प्राविधिक अर्थात् जेटीए पनि उत्तीर्ण गरे। यो कक्षा लिँदा सयजना थिए, सबैले छोडेर उनी कक्षामै एक्लो विद्यार्थी रहेका थिए।
पानी, विद्युत् र यातायातको समस्याका बाबजुद सुरु गरेको यो ठाउँमा अहिले उनी कृषिबाटै सफल भएका छन्। आफ्नो सफलताको देन उनी साना किसान विकास लघुवित्त वित्तीय संस्थाअन्तर्गत लाहाचोक साना किसान कृषि सहकारीलाई दिन्छन्। जसका कारणबाट उनले कृषिउद्यम कर्जाअन्तर्गत ३२ लाख रुपैयाँ ऋण लिए, त्यसमा आफ्नो पुँजी थपेर व्यवसाय विस्तार गरेका थिए। उनले मुख्यतया जेठदेखि कात्तिकसम्ममा कामदार लगाएरै तरकारी बिक्री गर्छन्।
त्यस बेला दैनिक २ हजारदेखि ३ हजार केजीसम्म तरकारी बेच्छन्। यो वर्ष ५० वटा बाख्रा पनि बेचे, अझै ५८ वटा छन्। सबैबाट उनले वार्षिक ५० लाख रुपैयाँबराबर बिक्री गर्छन्। उनले चारजनालाई नियमित रोजगार दिएका छन्। बढी सिजनमा दैनिक १५–२० जनालाई काम दिन्छन्। वार्षिक १८ लाख रुपैयाँ नाफा हुने गरेको उनी बताउँछन्। उनको कृषि फर्ममा ओजीटीका विद्यार्थी प्रशिक्षणका लागि आउँछन्। साथै विदेशी पर्यटकहरू पनि आउने गरेका छन्।
कामलाई सम्मान गर्दै उनको २०८० असारमा प्रदेशले उत्कृष्ट किसानको रूपमा पुरस्कृत गरेको थियो। उनको सबै सफलतामा उनकी श्रीमती शान्ति भट्टराईको साथ छ। जोसँग इजरायलमै कृषि तालिम लिने क्रममा प्रेम बसेको थियो। नेपाल फर्केपछि अन्तरजातीय विवाह भएको थियो।
६२ वर्षीया पिप्ला बनिन् उदाहरणीय
६२ वर्षीया पिप्ला भण्डारीलाई खेत जोत्न निकै कठिन हुन्थ्यो। पराल कुहिने समस्या उस्तै थियो। त्यसपछि उनले धान खेती छोडेर, माछापालन गर्ने निर्णय गरिन्। पाँच वर्षदेखि व्यावसायिक रूपमा माछापालन थालेकी छिन। चितवनको माडी नगरपालिका–४ मा बस्दै आएकी उनले माछापालन सुरु गरेको त, १५ वर्ष भयो। सुरुवाती चरणमा छोराहरूले नै माछापालन गर्न खाल्डा खने। तर, उनीहरूले बीचमै छोडे। त्यसपछि पिप्ला र उनका ७० वर्षीय पति कुलप्रसाद भण्डारीले नै व्यावसायिक माछापालन थाल्ने आँट गरे।
घरमा आमा बितेको पाँच दिनमै काजकिरिया सकेर माछापालनमा होमिए। समूह गठन गरी सहकारीबाट ऋण प्रक्रिया अघि बढाए र माछापोखरी खन्न थाले। पिप्ला भन्छिन्, ‘छोराहरूले माछापालनका लागि खाल्टो खने, तर गर्न झ्याउ भो भनेर पुर्न खोजे। तर, मैले यसरी बीचैमा छोड्नै होइन भनी लालपुर्जा मागेर आफैंले गर्न साना किसानमा कर्जा माग गरेँ। तर, उनीहरूले बुढी मान्छेले सक्दिनँ कि ? मर्छे कि ? भनेर मानेनन्। पछि मैले नैं आँट गरेँ।’
यसपछि उनले ५० लाख रुपैयाँ ग्रामीण उद्यम कर्जा लिइन्। पूर्वाधार बनाउनदेखि माछाका भुरा छोड्नका लागि डेढ करोड लगानी लाग्यो। ऋण लिएकोबाट नपुगेर भएको सबै बचत पैसा र पैतृक सम्पत्ति पनि थपिन्। १५ वर्षअघि जम्मा ३१ कठ्ठा जमिनमा मात्रै पोखरी थिए, तर अहिले ११ बिघा जमिनमा माछापालन व्यवसाय फैलिएको छ। जहाँ १२ वटा पोखरीमा माछा पालन गरिएको छ। १ कठ्ठामा ठूलो माछा साढे ३ सयसम्म र सानो माछा ५ सय वटासम्म अटाउँछन्।
पोखरीमा पानी स्वतः हुने भएकाले पानीको खाँचो पर्दैन, त्यसैकारण उनलाई व्यवसायमा सहज भएकोे छ। माछापालनमा तीन जनालाई समेत रोजगार दिन सफल भएकी छन्। उनका फार्ममा रौ, नैनी, सिल्भर, बिगट, ग्राँस प्रजातिको माछा पाइन्छन्। माछा बिक्रीका लागि बजारीकरणको समस्या नभएको बताउँछिन्। किनभने उनले अन्तबाट कम माछा उत्पादन हुने बेला बिक्री गर्ने गरी उत्पादन गर्छिन्। अहिले वर्षमा ४५ लाखदेखि ५० लाख रुपैयाँको माछा बेच्छिन्। भण्डारीका अनुसार खर्च सबै कटाएर १५–२० लाख बचत हुन्छ।
भन्छिन्, ‘छोराहरू इन्जिनियरलगायतका ठूला पदमा पुगेका छन्। ठेक्कापट्टा गर्छन्। तर, अहिलेसम्म कमाइ खानु परेको छैन। अब बुढेसकालमा अन्त गएर यत्ति धेरै पैसा कमाउन सकिँदैन भनेर आफ्नै ठाउँमा बसेर काम थालियो। अब सकुञ्जेल यही गर्छौं।’ एडीबीका सहयोगमा ग्रामीण उद्यम कर्जामार्फत प्रदान गरिएको सहुलियतपूर्ण कर्जा अयोध्यापुरी महिला साना किसान कृषि सहकारीमार्फत ८ प्रतिशत हाराहारीमा लिँदा पनि अन्यभन्दा सस्तो परेकाले लागत कम लागेको बताउँछिन्।
‘यस्तो कर्जा नभएको भए महँगो पथ्र्यों, धेरै ब्याज तिर्नुपर्थ्यो। यसले हामी किसानलाई फाइदा पुर्याएको छ। यो पाँच वर्षमा तिर्दा पनि हुन्छ अरूको छिटो तिर्नुपथ्र्यो। हामीले लिन सक्ने तयारी भएकैले ५० लाख रुपैयाँ कर्जा लिन आँट गरेका हौं’, उनले भनिन्।
बाख्रापालनबाटै ५ छोराछोरीको शिक्षादीक्षा
चितवन माडी–९, बगहीको दक्षिणमा गोविन्द बस्ती छ। बस्तीमा एक सय घरधुरी छन्। जहाँका पाँच घरले व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका छन। दुई घरले भने फार्म नै दर्ता गरेर बाख्रा पालन गरिरहेका छन्। त्यहाँकी सुकमाया अधिकारी र उनका पति गंगाबहादुर अधिकारी पनि व्यावसायिक कृषि उद्यममा लागेका छन्।
अधिकारी दम्पतीले सुरुमा घरायसी मोडलमा बाख्रा पाल्ने गर्थे। ०७० सालमा अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्थामा सदस्य बनेर सुकमायाले पाँच लाख रुपैयाँ लिएर बाख्राहरू थपिन्। सुरुमा सानो गोठमा थोरै बाख्रा राखेर निर्वाहमुखी पशुपालन गरेकी उनी अहिले २५ लाख रुपैयाँ लगानी गरेर ठूलो पशुमैत्री गोठ बनाएकी छिन। जहाँ १ सय २० वटा बाख्रापालन गर्दै आएकी छन्। तिहारमा करिब ८० वटा बिक्री भए। हाल ५० जति बाख्रा छन्। बाख्रा पालनसँगै तरकारी खेती पनि गर्छिन्। पशुपालनमा उनका पतिले सघाउँदै आएका छन्। उनीहरूको आम्दानीको मुख्य स्रोत नै बाख्रापालन भएको छ। कसैले पनि जागिर गर्दैनन्।
पहिला स्थानीय गाई पाल्ने खासै आम्दानी नभएको यसपछि भैंसी पनि पाल्दै आएका थिए। उनी भन्छिन्, ‘यो व्यवसायमा सबैको साथले अहिले सिंगो परिवार नै सँगै घरमा साथमा बसेर जिउन पाएका छौं। अहिलेसम्म अरू कामदार नराखी परिवारले नै काम गर्न पर्याप्त भएको छ। यसैबाट छोराछोरीलाई पढाउन र खान पुगेको छ। अहिलेसम्म राम्रै भएको छ।’
अधिकारी दम्पतीकै रोजगारीको मुख्य आधार नै कृषि उद्यम बनेकोे छ। जस्ले गर्दा ८ जनाको परिवार यसैबाट चल्दै आएको छ। यद्यपि उनका १ छोरा र ५ छोरीमध्ये ३ छोरीको विवाह पनि गरिन्। सबैको शिक्षा, दीक्षा र दैनिकी कृषि पेसाले नै गर्दै आएका छन्। सहुलियत ब्याजदरमा अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड माडी– ८ खरकट्टाबाट दुई वर्षअघि ग्रामीण उद्यम कर्जाअन्तर्गत गंगा बाख्रापालन तथा कृषि फर्म सञ्चालन गरेपछि आत्मविश्वास बढेको अधिकारी दम्पती बताउँछन्।
बाख्रापालनबाट मात्रै उनीहरूले वर्षमा ८–१० लाख रुपैयाँसम्म कमाउँछन्। ‘बर्सेनि करिब २५ देखि ३० वटा खसी करिब ६ लाख रुपैयाँको बिक्री हुन्छ। यससँगै, बाख्राको पाठी बिक्री गर्छु। बिउको पुँजीको रूपमा वडा र नगरपालिकाले किन्छन्। नगरपालिकालाई मात्रै ८ लाख रुपैयाँको पाठी र माउ बाख्रा बेचेँ। अहिले धेरैले अर्गानिक खेती गर्ने भनेर बाख्राको मल किन्ने गर्छन्। मल बेचेरै दाना किन्न सजिलो भएको छ’, उनी भन्छन्।
‘किन्न घरमै ग्राहक आउँछन्। यसैले बजारको समस्या छैन। ऋणको व्यवस्थापन गरेर बाख्रा पालेरै फड्को मारेको छु। बिदेसिनेभन्दा स्वदेशमै उद्यम सम्भव देख्छु।’, थप्छन्, ‘पशुपालनमै भविष्य देखेका उनले अझै यसलाई विस्तार गर्ने योजनामा छन्। मिहिनेत गरे सफल सम्भव छ। कृषिमै भविष्य देखेको छु।’
साथी बिदेसिए, वीरेन्द्र बंगुरपालनमा
युवा पुस्तामा पशुपालन मोह नगन्य छ। तर, कास्कीका केही युवा कृषिलाई नै आम्दानीको स्रोत बनाएर भविष्य बुन्दै छन्। कास्की मादी गाउँपालिका–५ मादीबेंसीका ३२ वर्षीय वीरेन्द्र थापामगर तिनैमध्येका एक हुनन्। कक्षा १२ उत्तीर्ण गरेलगत्तै विगत वर्षदेखि बंगुरपालनलाई नै निरन्तरता दिँदै आएका थापामगरले व्यावसायिक फड्को मारेका छन्। पोखरा बजारबाट करिब १२ किलोमिटर दूरीमा पर्ने मादीबेँसीमा उनको बंगुरपालनको सान्वी बहुउद्देश्यीय कृषि फर्म छ।
आफू सरहका साथीहरू बिदेसिए पनि उनी भने आफ्नै भूमिमा भविष्य बुन्दै छन्। उनले २०६९ सालदेखि टनेल बनाएर खेतीकिसानी थाले। सुरुमा ६० हजार रुपैयाँ लगानी गरेर दुइटा बंगुर पनि पाले। यसबाट भएको कमाइले पाँच जनाको घरपरिवार जसोतसो धानिँदै आएको थियो। उनी सरहका साथीहरू विदेशतिर लाग्दै गर्दा उनीले भने त्यही भूमिमा थप लगानी जुटाएर व्यवसाय विस्तार गर्ने सोच राखे।
यसपछि उनले आफ्नो बुवा साना किसान कृषि सहकारी संस्थामा सदस्य भएकाले आफू पनि कृषि सदस्य बने। अनि आफ्ना भएका जग्गा धितो राखेर ग्रामीण उद्यम कर्जामार्फत १५ लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण लिएर व्यवसाय विस्तार गरे। भन्छन्, ‘कर्जा लिएपछि १३ लाख रुपैयाँ पूर्वाधार संरचनामै सकियो। त्यतिबेला लकडाउनको बेला भएकाले हात हालेको काम छोड्ने कुरा भएन भनेर काम थालें।’
चार रोपनी जग्गामा उनले बंगुरपालन तथा तरकारी खेती गरिरहेका छन्। अहिले खोरमा ५१ वटा बंगुर पालेका छन्। उनी व्यवसाय स्थलबाट आफैं बंगुर काटेर पोखरा बजारसम्म मासु बिक्री गर्छन्। बजारमा मूल्य राम्रै पाउने भएकाले बजारीकरणमा समस्या नभएको बताउँछन्। प्रायः यसको मूल्य अहिले प्रतिकेजी ५ सय ८० रुपैयाँदेखि ६ सय रुपैयाँसम्ममा बिक्री गर्दैै आएका छन्।
कोभिड महामारीपछि भने बंगुरको मासुको माग बढी भएकाले मूल्य पाएको उनी बताउँछन्। सामान्यतः एउटै बंगुर १४४ केजीसम्मको हुन्छ। स्थानीय बजारमै खपत हुने भएकाले बिक्रीमा समस्या नरहेको उनको भनाइ छ। उनले वर्षभर बंगुरको पाठापाठी, मासु र तरकारी बिक्री गरेर १८ लाखदेखि २० लाखसम्मको आम्दानी गर्ने गरेको बताउँछन्।
‘कुनै महिनामा राम्रै आम्दानी हुन्छ, कुनै महिना होल्ड गरेर बस्नुपर्छ। वर्षैंपिच्छे भएको आम्दानीबाट तरकारीको पाँचवटा टनेल बनाइसकेँ। लिएको ऋण पनि १२ लाख तिरिसकेँ अब ३ लाख रुपैयाँ मात्र बाँकी छ।’ उनी भन्छिन्, ‘कर्जा लिएको सुरुको १२ महिनासम्म ग्रेस अवधि भएकाले ब्याजमात्रै तिर्नुपर्छ। यसपछि त्रैमासिक रूपमा किस्ता तिर्नुपर्छ। एक वर्षबाहेक बाँकी ४ वर्षमा १६ किस्ता तिरेर कर्जा सकाउनुपर्छ। यो साना किसानबाट ९ प्रतिशतमा कर्जा नपाएको भए अरूमा १६ प्रतिशतसम्म तिर्नुपथ्र्यो, गाह्रो हुन्थ्यो। अहिले सहुलियत ब्याजले राहत मिलेको छ।’ अझै उनी आगामी दिनमा कर्जा थप गरी व्यवसाय बढाउने सोचमा छन्।
घरका एक्लो छोरा उनी स्वदेशमै बसेर कृषि उद्यमबाट आयआर्जनसँगै आमाबुवाको सहारा बन्न पाएको र परिवारको साथमा बस्न पाएको नै ठूलो सम्पत्ति ठान्छन्। अझ अहिले स्वदेशमै बसेर गरेको उनको परि श्रम देखेर साथीहरूले प्रशंसा गर्ने गरेको र विदेशबाट आएपछि यस्तै पेसा गर्न प्रेरित भएको उनी बताउँछन्। यसकारण उनी अन्य युवालाई नेपालमै बसेर विदेशको भन्दा बढी कमाउन सकिने सल्लाह दिन्छन्। अर्काको देशभन्दा आफ्नै देश स्वर्ग लाहाचोककै चन्द्रबहादुर शाही र उनकी पत्नी अनिता सेन शाहीले पनि भैंसीपालनलाई मुख्य पेसा बनाएका छन्। चन्द्रबहादुरले खाडी मुलुकमा लामो समय काम गरे। फर्केपछि घर छोडेर जान सकेनन्। त्यसपछि देशमै केही गर्ने सोचेर उनी कृषिमै होमिए। विदेशबाट ल्याएको पैसा घरजग्गा जोड्दैमा सकियो तर व्यवसाय गर्न पैसा पुगेन। तर, उनकी श्रीमती अनिता सहकारीको सदस्य भएकाले कर्जा लिन सजिलो भयो। त्यो पनि एडीबीको ग्रामीण कृषि उद्यम परियोजनाबाट सहुलियत ऋण लिएर भैंसी पाल्न सजिलो भयो।
अहिले ३ वटा गाई र ७ वटा भैंसी छन्। उनी अहिले दिनको ५० लिटर दूध बेच्छन्। एक लिटर दूधको १०० रुपैयाँदेखि १२० रुपैयाँसम्म बिक्री गर्छन् जो दैनिक करिब ५० लिटर दूध बेच्छन्। जसबाट उनी महिनामै १ लाख ७० हजाभन्दा बढी कमाउँछन्। एक जनालाई रोजगारसमेत दिएका छन्। ४० वर्षे अनिता सेन भन्छिन्, ‘कृषिबाटै खान लाउन पुगेको छ। छोराछोरी पठाउन बाहिर खोज्न परेको छैन। हामी सन्तुष्ट छौं।’ करिब साढे ९ वर्ष विदेशमा काम गरेर फर्किएका ४३ वर्षीय चन्द्रबहादुर थप्छन्, ‘भैंसीपालनसँगै ट्याक्टर पनि चलाउँछु। विदेशमा अर्काको गुलामी बन्नुभन्दा स्वदेशमै गुलामी गर्नु ठीक। यहाँ आफ्नै इच्छाले काम गर्न पाइयो।’
६ अर्ब १२ करोड ६५ लाख उद्यम कर्जा
निर्वाहमुखी कृषिलाई व्यावसायिक कृषिमा रूपान्तरण गर्ने, रोजगारी सिर्जनामार्फत गरिबीको स्तर घटाउने, महिला सशक्तीकरणमा जोड दिने, किसानलाई व्यवसाय योजना विकास गर्न सिकाउनेजस्ता लक्ष्य ग्रामीण उद्यम वित्तीय परियोजनाको छ। जसबाट मुलुकभर दुई हजारभन्दा बढीले सहुलियत ब्याजदरमा उद्यम कर्जा लिएर लाभान्वित छन्।
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सरकारले साना किसान लघुवित्त वित्तीय संस्थामार्फत सन् २०१९ बाट सहुलयित ब्याजमा सुरु गरेको ग्रामीण उद्यम कर्जा ५ वर्षमा ६ अर्ब १२ करोड ६५ लाख रुपैयाँबराबर प्रवाह गर्ने लक्ष्य थियो। सन् २०२४ सम्ममा ४ अर्ब ३२ करोड ६० लाख रुपैयाँबराबर प्रवाह भएको छ। तर, कोरोना महामारीका कारण उक्त लक्ष्य समयभित्र पूरा नभएकाले सन् २०२६ सम्मकालागि सरेको छ।
मुलुकभर ५ सय ५० पालिकामा हालसम्म कुल २ हजार ८ संख्यामा व्यक्तिगत र संस्थागत उद्यम कर्जा प्रवाह भएको साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) डा. नवराज सिम्खडा बताउँछन्। ‘जसबाट १ हजार ९ सय ७० जनालाई ३ अर्ब ८६ करोड ६० लाख रुपैयाँबराबरको व्यक्तिगत उद्यम कर्जा प्रवाह गएको छ भने ३८ वटा संस्थागत उद्यम कर्जामा ४ करोड ६६ लाख रुपैयाँ प्रवाह भएको छ। यससँगै परियोजना अवधिभर ३० हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ’, उनी थप्छन्।