आज पनि घट्यो सेयर बजार , कारोबार ५ अर्ब ६२ करोडमा सीमित
काठमाडौं : नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार ४५.९३ अंकले घटेको नेप्से यसदिन १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।
आज ३१७ स्क्रिप्सको १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ७ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
दोहोरो अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। इनर्जी नेपालको सेयर ८.७६ प्रतिशतले बढ्दा महिला लघुवित्त वित्तीय संस्थाको ७.१४,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ६.०३ र हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशतले बढ्यो।
स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो।
हिमालयन डिस्टिलरीको २७ करोड,जोशी हाइड्रोपावर डेभलपमेन्टको १२ करोड,जानकी फाइनान्सको ११ करोड र लाइफ इन्स्योरेन्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ९२ स्टक्सको मूल्य बढ्दा १३८ वटाको घट्यो भने १३ वटाको मूल्य स्थिर रह्यो। ५ वटा समूहको उपसूचक बढ्दा ८ वटाको उपसूचक नकारात्मक देखिएका छन्।