प्रतिनिधिसभाको अधिवेशन तत्काल आह्वान नगरे विशेष अधिवेशनको माग गर्छौं : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफूले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताएका हुन्।
उनले जरुरी परे संसदको विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौं जनतासंग मिलेर प्रतिक्रियावादी विरुद्ध लड्ने बताए। सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जो कोहिलाई कारवाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको उनको भनाई छ।
प्रचण्डले अहिले सरकारमा रहेका दलका नेताहरुको हातमा राजनीति नरहेको र उनीहरुको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको आरोप लगाए।
बिचौलियाहरुले घुमाएर अहिलेको सरकारमा रहेका नेताहरूलाई रातारात उठबस गराएको उनले बताए। उनले बिचौलियाहरुले संख्याको ताकत देखाएको भन्दै आफूहरूले जनताको ताकत देखाउने उल्लेख गरे। प्रचण्डले माओवादीको सकारात्मक पहल र ज्ञानेन्द्र शाहको नकारात्मक क्रियाकलापले मुलुकमा गणतन्त्र सम्भव भएको धारणा राखे।
त्यस्तै उनले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणाली देशका लागि हितकर नभएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए।