परम्परागत शैलीमा महांकाल मन्दिर परिसर चौघेरा सत्तलको पुनर्निर्माण सुरु
काठमाडौं : काठमाडौं महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाकांल मन्दिर परिसर चौघेरा सत्तलको पुनर्निर्माण सुरु गरेको छ। महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आज जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गरेकी हुन्।
‘काठमाडौँका सम्पदाको प्राचीनता र मौलिकता तस्विरमा होइन, वास्तविकतामा हेर्न मिल्ने बनाउँदैछौँ। प्राचीनता जोगाउन सबै पक्षबाट सहयोग र समन्वय हुने अपेक्षा गरेका छौँ।’ उपप्रमुख डंगोलले भनिन्,‘ व्यक्तिलाई समस्या परे, भगवानका शरणमा जाने गरिन्छ। भगवान स्थलमा हुने क्रियाकलापमा उतारचढाव नहोस्। समयमा कार्य सम्पन्न हुन सकोस्। सबै मिलेर यही प्रण गरौँ।’
सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगतले पूर्खाले दिएको नासो जोगाउने सबैको दायित्व भएको बताए।
यसैगरी वडा २२ का अध्यक्ष महर्जनले महाङ्काल मन्दिरको भौतिक स्वरुप जोगाउनु महानगरपालिकाको प्रतिष्ठासँग जोडिएको योजना भएको उल्लेख गरे।
सार्वजनिक खरिद प्रक्रियाबाट १० करोड ५ लाख १० हजार ६१९ रुपैयाँ कबोल गर्ने विनायक-एसपि-बोहोरा जेभि निर्माण कम्पनीसँग सम्झौता भएको छ। सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले परम्परागत निर्माण सामग्री र शैली पुननिर्माणको मुख्य विशेषता रहेको बताए। सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलको हुनेछ। हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ। यसमा जमिन तलामा ९ वटा कोठा हुनेछन्।
पहिलो तलामा ३ वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछ। यस माथि बुइँगल हुनेछ। वि. सं. १९९७ सालमा खिचिएको तस्विरका आधारमा पुननिर्माण गरिन लागेको हो। मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ। पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेश द्वार हुनेछ। सत्तल झिँगटीको छानायुक्त हुनेछ। यसको विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको हो।
यहाँ हिन्दू र वौद्ध धर्मावलम्बीहरुले आस्थापूर्वक पूजा आराधना गर्ने गर्छन्।