रवि लामिछानेको विषयमा मानवअधिकार आयोगले एआईजीसँग गर्यो सोधपुछ
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ विषयमा छानबिन थालेको छ।
सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएकोले उजुरी परेपछि अनुसन्धान प्रारम्भ भएको सहसचिव/प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए।
घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले सहितको प्रहरी उच्च अधिकारीहरूसँग आज आयोगले जानकारी लिएको छ ।
‘सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले उहाँमाथि अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएकोले छानविन गरी मानव अधिकार संरक्षण गरीपाउँ भन्ने समेत व्यहोराको आयोगमा परेको उजूरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको छ ।’ उनले भने, ‘घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ सहितको प्रहरी उच्च अधिकारीहरूसँग आज आयोगले थप जानकारी लिएको छ ।’
जानकारी लिने क्रममा आयोगका माननीय सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूति सहित स्वच्छ पूर्पक्षको अधिकार र वन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताए। घटनाको बारेमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तर जारी राखेको प्रवक्ता पोखरेलले जानकारी दिए।