बनेपाबाट सुनसहित दुई पक्राउ
काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका-९ बस्ने ३८ वर्षीय वसन्त लामा र रामेछापको मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको प्रहरीले उक्त सुन बरामद गरेको हो। सुनसहित कारका चालक वसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेर राजस्व कार्यालय काठमाडौं पठाएको प्रहरीले जनाएको छ।