स्याङ्जा कारागारमा मानवअधिकारकर्मीको निरीक्षण
स्याङजा : आज ७६ औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस। दिवसको अवसर पारेर मानवअधिकारको क्षेत्रमा क्रियाशिल प्रतिनिधिहरूले स्याङ्जा जिल्ला कारागार र प्रहरी कार्यालयभित्रको थुनुवा कक्षको निरीक्षण गरेका छन्।
गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय पोखरा,राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पोखरा र अनौपचारिक सेवा केन्द्र इन्सेक पोखरा,मानवअधिकारकर्मीसहितको टोलीले स्याङ्जा कारागार र प्रहरी कार्यालयमा रहेका बन्दी तथा थुनुवाको अवस्थाका बारेमा जानकारी लिएको हो।
अनुगमनमा मुख्यमन्त्री कार्यालयका कानुन महाशाखाका उपसचिव शालिकराम रेग्मी, मानवअधिकार आयोगका अधिकृत टंकप्रसाद खनाल, इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल, महिला मानवअधिकार रक्षकहरुका सजांल कास्कीका अध्यक्ष केशु भुजेल, एडभोकेसी फोरमका प्रदेश संयोजक कुन्जनी परियारलगायतले कारागार शाखा र प्रहरी कार्यालयको थुनुवा कक्षको निरीक्षण सहित त्यहाका अवस्थाका बारेमा जानकारी लिएको छ।
कारागार शाखा प्रमुख दिनेश शर्माले कारागारका अवस्थाका बारेमा जानकारी गराए। कैदीबन्दीले दीर्घरोगी,मानसिक रोगी र अन्य सबै एकै स्थानमा बस्नु परेको,राज्यले सिदाका लागि कम रकम उपलब्ध गराएको, लामो समयसम्म बन्दी बनाइराखेको, कैद छुट नपाएको, बालकलाई कारागारमा राखेको, कारागारमा चिसोपन बढी भएको जस्ता गुनासा एवं समस्या सुनाएका थिए।
६५ जना क्षमताको कारागारमा ५ महिलासहित १४७ राखिएका छन् भने प्रहरीको थुनुवा कक्षमा ३ जना छन्।