एनपीएल : चितवन राइनोज ३३ रनले पराजित
रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सको पहिलो जित
lumbini
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) मा नवौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले ३३ रनले जित निकालेको छ। लगातार ४ हार बेहोरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले चितवन राइनोजविरुद्ध बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेका हुन्।
लुम्बिनी लायन्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै जोडेको हो। योसँगै लुम्बिनीको पहिलो जित हो।
लुम्बिनीले पहिलो खेलमा विराटनगरसँग २ विकेट, पोखरासँग १० विकेट, सुदुरपश्चिमसँथ ४५ रन र जनकपुरसँग १ रनले पराजित भएको थियो। कप्तान रोहितले बलिङमा ४ विकेट र ब्याटिङमा ८० रन बनाए।
चितवन राइनोजले पावरप्लेमा ३ विकेट गुमाउँदै ४० रन बनाए। चितवनका लागि पहिलो विकेटका रुपमा १.४ ओभरमा विपिन रावलको विकेट गयो। उनलाई रोहित पौडेलले ५ रन बनाउँदा साद बिन जफरको हातबाट क्याच आउट भए।
दोस्रो विकेटका रुपमा ओपनर सन्तोष कार्कीलाई रेमोन सिमोन्डले अशुतोष घिरौयाको हातमा क्याच आउट गराए। चौथो ओभरको पहिलो बलमा कप्तान रोहितले सोहिल तान्भिरलाई कट एण्ड बोल्ड गराए।
चितवनले १० ओभरमा ३ विकेट गुमाएर ५६ रन बनाउँदा लुक बेन्केन्स्टाइन र रवि बोपाराले ४० रनको साझेदारी गरेका थिए। १०.२ ओभरमा लुक बेन्केन्स्टाइन २९ बलमा ३ चौका र १ छक्कासहित ३१ रन बनाउँदै अभिषेस गौतमको बलमा उन्मुक्त चन्दको हातमा क्याच आउट भए।
११.२ ओभरमा रवि बोपारा रोहित पौडेलको बलमा विवेक यादवको बलमा १२ रन बनाउँदै क्याच भए। छैटौं विकेट निको इटोन लोफ्टी रोहित पौडेलको बलमा ६ रनमै एलबीडब्ल्यु आउट भए। अमर रौतेला ६ रनमा सिमोन्डको हातबाट बोल्ड भए।
आठौं विकेट कप्तान कुशल मल्लको विकेट गयो। उनलाई अभिशेषले साद बिन जफरको हातमा क्याच आउट गराए। मल्लले १७ बलमा १ चौका र १ छक्कासहित १२ रन मात्रै बनाए। रिजन ढकाल १५ र नर सार्की २२ रनमा अविजित रहे।
लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा जम्मा १७ रन खर्चिए। रेमोन सिमोन्डले २ विकेट, साद बिन जफर र अभिषेश गौतमले समान १/१ विकेट लिए।
त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो। पाँचौं विकेटका लागि कप्तान रोहित र साद बिन जफरले ११४ रनको शतकीय साझेदारी गरेका हुन्।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ८० रन बनाएका हुन्। उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए। लुम्बिनी लायन्सले पावरप्लेमा २ विकेट गुमाउँदै ३३ रन जोडेको थियो।
लुम्बिनीका लागि पहिलो विकेटका रुपमा २.१ ओभरमा रिजन ढकालले अशुतोष घिरौयालाई १ रनमा बोल्ड आउट गरे। दोस्रो विकेटका रुपमा २.३ ओभरमा उन्मुक चन्दको विकेट गयो। उनी डक आउट भए।
२ ओभरको समाप्तिमा लुम्बिनी २–२ को अवस्थामा थियो। २ रन बनाउँदा २ विकेट गुमाएको लुम्बिनी ४ ओभर सकिँदा २ विकेटको क्षतिमा ८ रन बनाएको थियो।
तेस्रो विकेट अर्जुन साउदको गयो। उनलाई रञ्जित कुमारले कुशल मल्लका् हातमा क्याच आउट गराएका हुन्। अर्जुनले १२ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए। चौथो विकेट टम मोरिसको गयो। उनले ५ बलमा १ छक्कासहित १० रन बनाए। लुम्बिनीले १० ओभरमा ४ विकेटको क्षतीमा ५७ रन बनाएको थियो।
१५ ओभरमा १०० रन पूरा गरेको लुम्बिनीको ब्याटिङ कप्तान रोहित र साद बिन जफरले सम्हाले। पाँचौं विकेटका लागि १८.३ ओभरमा रोहित र साद बिन जफरले शतकीय साझेदारी पूरा गरे।
अर्का ब्याटर साद बिन जफर ५२ रन बनाउँदै अन्तिम बलमा रन आउट भए। उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सन्दीप जोरा ३ बलमा ४ रन बनाउँदै अविजित रहे।
चितवनका लागि रिजन ढकालले ३ विकेट र कुशल मल्ल र रञ्जित ढकालले समान १/१ विकेट लिए।
चितवनले पहिलो खेलमा काठमाडौंलाई ५ विकेट, पोखरालाई ८७ रनले र चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले जित्दा तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटको हार बेहोरेको हो।