खड्काको नेतृत्वमा अन्नपूर्ण पोस्ट् प्रतिष्ठान शाखामा नयाँ समिति
काठमाडौं : नेपाल पत्रकार महासंघ अन्नपूर्ण प्रतिष्ठान शाखामा रामकला खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। सर्वसम्मत चयन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिता कार्की, सचिवमा मदन चौधरी, सहसचिवमा पुरुषोत्तम घिमिरे, कोषाध्यक्षमा सिर्जना सुवेदी र सदस्यहरूमा अजवी पौडेल, नितु घले, प्रतीक घिमिरे, गिरीप्रसाद भुसाल, विभोर अधिकारी र अभिषेक महर्जन छन्। त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा मीनु सिंह र राधा खनाल चयन भएका छन्।
निर्वाचन समितिका संयोजकमा कृष्णप्रसाद रिमाल र सदस्यहरूमा मनोज बस्नेत र बासु क्षितिज रहेका थिए। नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि रामकृष्ण अधिकारी रहेका थिए। कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई द अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई, रेडियो अन्नपूर्णका समाचार प्रमुख भूपाल लुइँटेल लगायतले बधाई तथा शुभकामना व्यक्त गरे।
अन्नपूर्ण प्रतिष्ठान शाखाका निवर्तमान अध्यक्ष शम्भु कट्टेलले आफूले काम गर्दाका दिनमा मिडियामा आएका संकटका कारण ठूलो चुनौती भोग्नु परेको स्मरण गर्दै आगामी दिनमा कुनै पनि समस्या आए शाखाले पत्रकारको हितमा रहेर काम गर्दै जाने विश्वास व्यक्त गरे। निवर्तमान अध्यक्ष कट्टेल अन्नपूर्ण पोस्ट् डट कमका सम्पादक हुन्।
नवनिर्वाचित समितिलाई बधाई दिँदै अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले कट्टेल नेतृत्वको कार्यसमितिले मिडियामा आएको ठूलो संकटका बेलामा संस्थासँगको समन्वय र सहकार्यमा श्रमजीवी पत्रकारका समस्या सल्टाउन खेलेको भूमिकाको प्रशंसा गरे। पत्रकारहरूको कुनै पनि समस्यामा नयाँ कार्यसमितिले व्यवस्थापनसँग नजिक रहेर समाधानका लागि पहल गर्नेमा उनले विश्वास व्यक्त गरे।
अन्नपूर्ण प्रतिष्ठान शाखाकी नवनिर्वाचित अध्यक्ष रामकला खड्काले आफूले श्रमजीवी पत्रकार साथीहरूका हकहित र सेवा सुविधाका लागि अन्नपूर्ण पोस्ट्को व्यवस्थापन र नेपाल पत्रकार महासंघसँग समन्वयमा काम गर्ने बताइन्। अध्यक्ष खड्का अन्नपूर्ण पोस्ट्की समाचार संयोजक एवं क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)की अध्यक्षसमेत हुन्।