पर्यटकीय हबका लागि मोटरबाटो निर्माण
नुवाकोट : गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नुवाकोटको तारकेश्वरमा मोटरबाटो निर्माण गरिएको छ। नवनिर्मित मोटरबाटोको उद्घाटन गरिएको छ।
तारकेश्वर गापाको पाल्छेङ्बा गङ पुग्नका लागि सडकको निर्माणसँगै उद्घाटन गरिएको हो। गाउँको नमुना पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले सो मोटर बाटो बनाइएको हो।
तारकेश्वर–१ को जन्तरे चुलीमा रहेको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वको पाल्छेङ्बा गङ जान सर्वसाधारणको सुविधाका लागि निर्मित सडकको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारीले उद्घाटन गरे।
सो स्थल तारकेश्वर गापाकै उच्च स्थान हुनुका साथै तामाङ समुदायको पवित्र र महत्वपुर्ण धार्मिक स्थलसमेत रहेको पाल्छेङ्बा गङमा जानका लागि वनाइएको यस सडकलाई निकट समयमा पक्की समेत बनाइने अध्यक्ष अधिकारीले बताए। तारकेश्वर गापाको सहयोगमा निर्मित छ्योर्तेनको गत महिनामात्र उद्घाटन गरिएको थियो।
अध्यक्ष अधिकारीले तारकेश्वर गापाले सुरु गरेको ‘गन्तव्य तारकेश्वर’ कार्यक्रमअन्तर्गत उक्त स्थानलाई पर्यटकीय हबका रुपमा विकास गर्न नयाँ सडक निर्माण गरी सर्वसाधारणको विगतको कठिन यात्रालाई सहज बनाउने बताए। सोहीअनुरुप तारकेश्वर–१ को जन्तरेगढीदेखि पाल्छेङ्बा गङ मुनिसम्म सडक निर्माण गरिएको हो।