कर्णाली सरकारको सकारात्मक कदम

कर्णाली सरकारको सकारात्मक कदम
सुन्नुहोस्

असारे विकास निरुत्साहित हुनेगरी कर्णाली प्रदेश सरकारले पूर्वाधार योजनाहरूको ठेक्काको कामपछि निर्माण थालेको छ । साउनदेखि आर्थिक वर्ष सुरु भएपछि कम्तीमा कात्तिक–मंसिरसम्म निर्माण कम्पनी छनोटको प्रक्रिया सक्नुपर्ने नीति तीनै तहका सरकारले लिएका छन् । पूर्वाधार निर्माणको काम भने आर्थिक वर्षका अन्त्यतिर हुँदै आएको छ । कर्णाली प्रदेश सरकारले सडक, पुलसहितका ठूला निर्माणका योजनाको ठेक्काको काम मंसिरमै सकेर उदाहरणीय सुरुआत गरेको छ । यसले संघीय सरकार मात्रै होइन, ६ वटै प्रदेश, सयौं स्थानीय सरकारलाई पनि दबाब सिर्जना गरेको छ । मुलुकको ढुकुटीलाई असारे पानीमा बगाउनु पूर्णतः गलत हो । कर्णालीको यो प्रयासले केही सुधार अवश्यै हुनेछ ।

कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ४ सय ३ ठूला आयोजनामा ५ अर्ब ५२ करोड ४ लाख ४२ हजार बजेट विनियोजन गरेको छ । २ सय ७५ आयोजनाको ठेक्का आह्वान गरी सम्झौताको चरणमा छन् । ती आयोजनामा ३ अर्ब ७० करोड ५२ लाख बजेट कार्यान्वयन प्रक्रियामा गइसकेको छ । बाँकी १ सय २८ आयोजनाको पनि मंसिर मसान्तभित्रै ठेक्का खुलाई सक्ने मन्त्रालयको तयारी छ । ती आयोजनामा २ अर्ब ४६ करोड ४२ लाख बजेट विनियोजन गरिएको छ । कुल आयोजनाको ६७ प्रतिशत बजेट कार्यान्वयन प्रक्रियामा गइसकेको छ । यो प्रदेश सरकारको उत्कृष्ट सुरुआत हो । सरकारको पुँजीगत बजेटमध्ये अधिकतम पूर्वाधार मन्त्रालयमै हुन्छ । यही मन्त्रालयबाट समयमै कार्यसम्पादन हुँदा प्रदेशको प्रगति देखिन्छ । निर्माण हुने आयोजनामा गुणस्तरीयता कायम राख्न मद्दत पुग्छ । हतारमा काम गर्दा हुने बजेटको दुरुपयोग कम हुन्छ । असारमा हुने अधिकांश निर्माणमात्रै बजेट सक्ने काम हुन्छ । हिलोमै कालापत्रे गर्ने र सातादिनमै उक्किने गरेका उदाहरण थुप्रै छन् । मनै अमिला हुने दृश्यहरू सबै स्थानमा रोकिनैपर्छ । राजस्वको सही सदुपयोग गरेमात्र देश विकासले गति लिन्छ ।

विकास निर्माणको प्रगति ठेक्कामा लगाउनु मात्रै भने पक्कै होइन । प्रदेश सरकारले निर्माण कम्पनीले समयतालिका अनुसार कार्यसम्पादन गरिरहेको छ कि छैन ? सोको निरन्तर अनुगमन पनि हो । ठेक्का लिने तर समयमै काम नगर्ने परिपाटी पनि रोक्नुपर्छ । काम सकेको भुक्तानीमा पनि सरकार सजग हुनुपर्छ । अनुगमन संयन्त्र प्रभावकारी भयो भने विकास योजनामा अपेक्षित उपलब्धि हासिल हुन्छ । असारमा हुने अर्काे विकास भनेका अनुदान वितरण, गोष्ठी, सेमिनार, तालिमहरू पनि हुन् । जुन बजेट सक्नकै लागि हुने गरेका छन् । पूर्वाधार निर्माणसँगै अन्य बजेट कार्यान्वयनलाई पनि सँगसँगै लैजान सकियो भने मात्रै साँच्चिकै उपलब्धि हासिल हुनेछ । सबै प्रदेश सरकारका बजेटमा वैशाखभित्रै निर्माणको कार्य सक्ने भन्ने उल्लेख गरिएका छन् । कार्यान्वयन भने भएको छैन । समयमै बजेट कार्यान्वयन हुँदा बजेट खर्च बढ्ने हुन्छ । अर्थतन्त्रमा सकारात्मक सुधार देखिन्छ । कर्णालीको असल अभ्यासलाई सबैले आत्मसात् गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु जरुरी छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.