प्लास्टिक प्रयोग, रोक्ने चाहिँ कहिले ?
तीव्र सहरीकरणसँगै फोहोर उत्सर्जन बढ्दो छ। नकुहिने प्लास्टिकजन्य फोहोरले प्रकृतिलाई नोक्सानी गरिरहेको छ। सर्वाेच्च शिखर सगरमाथादेखि पर्यटकीय स्थलहरू प्लास्टिक फोहोरले ढाकिँदै गएका छन्। उपभोग बढ्दो र व्यवस्थापन कमजोर हुँदा सहरी एवं पर्यटकीय क्षेत्रका साथै जंगल र खेतीयोग्य जमिनलाई पनि प्लास्टिकले बिगार्दै गएको छ। स्थानीय सरकारबाट हुने फोहोर संकलन र व्यवस्थापन प्रभावकारी छैन। प्रायःजसो यसलाई या त त्यसै छोडिन्छ वा जलाइन्छ। जुन दुवैले वातावरणीय ह्रास र जलवायु परिवर्तनमा योगदान गर्छन्। प्लास्टिक जलाउँदा हानिकारक विषाक्त पदार्थहरू निस्कन्छन्, जसले हावाको गुणस्तरलाई गम्भीर रूपमा असर गर्छ।
प्लास्टिक जलाउनु खतरनाक अभ्यास भएकाले यसले हावा र जनस्वास्थ्यमा प्रत्यक्ष हानि पुर्याउने र क्यान्सरको जोखिमसमेत बढाउने हुन्छ। मानवलाई नै प्रत्यक्ष असर गरिरहेको प्लास्टिक फोहोर व्यवस्थापनका सरकारी निकायले ध्यान दिन सकेका छैनन्। सरकारले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ कार्यान्वयनमा ल्याएको भए पनि कार्यान्वयन पक्ष निकै फितलो छ। २०६८ सालमा काठमाडौं उपत्यकामा २० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाहरूको उत्पादन, वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
तर, कार्यान्वयनको भने अभाव छ।
प्लास्टिकलाई पुनप्र्रयोग गर्दा व्यवस्थापनसँगै आम्दानी समेत हुन्छ। जसका लागि घरमै फोहोरको वर्गीकरण सही तरिकाले गर्नुपर्छ। महत्वपूर्ण पक्ष प्लास्टिकको प्रयोग नै कम गर्न मानव तथा प्रकृतिलाई हुने हानिका विषयमा नागरिकलाई सचेत बनाउनुपर्छ। प्लास्टिकको उपभोग घटाउने नीति सरकारसँग हुनुपर्छ। कम्तिमा हाट वा पसल जाँदा कपडाकै थैलो बोकेर जाउँ भन्ने अभियान चलाउन सकियो भने पनि प्लास्टिकको झोला खपत निकै कम हुन्छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकासहितका कतिपय पालिकाले सुरु गरेको यो अभियान प्रभावकारी देखिएको छ। यसले प्लास्टिक आयातलाई कम गर्छ, खुला क्षेत्र प्लास्टिकमुक्त गर्दा जथाभावी फोहोर फ्याँक्ने काम कम हुन्छ।
स्थानीय सरकारले प्लास्टिकलाई पुनर्प्रयोग गर्ने नीति योजना बनाई कार्यान्वयनमा ल्याउने हो भने केही हदसम्म फोहोर व्यवस्थापन हुन्छ। फोहोर उत्सर्जन नै कम गर्न प्लास्टिकको सट्टा प्रयोग गर्न सकिने वैकल्पिक वस्तुहरू हुनुपर्छ। अन्य वस्तुको उपलब्धताले प्लास्टिक प्रयोग न्यूनीकरण गर्न सकिन्छ। सरकारले २०८१ कात्तिकदेखि तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको छ। यो प्रतिबन्धको दायरालाई बढाउँदै कार्यान्वयनमा जोड दिनुपर्छ। सचेतना अभियान र नियम कानुनको कार्यान्वयनलाई सँगसँगै लैजादामात्रै प्लास्टिक फोहोरको जोखिमलाई कम गर्न सकिन्छ। यो हरेक नागरिकको दायित्व पनि हो, प्लास्टिक प्रयोग रोकौं।