नेवार समुदायमा य:मरी पर्वको रौनक
काठमाडौं : नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज य:मरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन्। दिवसका अवसरमा नेवार समुदायले र्याली निकालेको छ। र्यालीमा सहभागीहरूले परम्परात नेवारी पोशाकमा सजिएका थिए।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई य:मरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।
नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।
आजैका धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ ।