खोलामा छाडिए ८० हजार माछाका भुरा
स्याङ्जा : अर्जुनचौपारी गाउँपालिका अन्तर्गतका ३ वटा खोलामा विभिन्न प्रजातिका ८० हजार माछाका भुरा छाडिएका छन्।
कालीगण्डकी ए जलविद्युत उत्पादन केन्द्र अन्तर्गतको मत्स्य ह्याचरी बेल्टारी स्याङ्जाको सहयोगमा अर्जुनचौपारी गाउँपालिकाले दरौंखोला, केवरेखोला र दिर्जेखोलामा ठेड, गर्जी र हाडे जातका माछाका भुराहरू छाडिएका हुन्।
वातावरणीय पर्यावरणीय जोगाउनुका र माछाबाट जीविकोपार्जनसँगै आयआर्जन बढाउने उद्देश्यले पालिकाले भुरा छाडिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए। पालिकाको नीति तथा कार्यक्रम अनुसार प्रत्येक वर्ष खोलामा माछा भुरा छाड्दै आएको उनको भनाई छ।
उनका अनुसार विज्ञहरूका सल्लाह बमोजिम यहाँका खोलाको उपयोग गर्दै माछापालन मार्फत आय आर्जनमा जोडिएका छौं। माछाका भुरा छाडिएसँगै माछा मार्ने कार्य निषेध गरिएको छ।
पालिकाको आग्रह विपरीतका कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने पालिकाले जनाएको छ। स्याङ्जा स्वादिला माछाका लागि प्रख्यात छ। यहाँको चिसो पानीमा पाइने माछा अत्यन्तै स्वादिलो हुन्छ। आँधीखोला र कालीगण्डकी माछाका उर्वर थलो हुन्।