बन्द रहेको टीकापुर विमानस्थल तारा एयरको व्यावसायिक उडान

बन्द रहेको टीकापुर विमानस्थल तारा एयरको व्यावसायिक उडान
सुन्नुहोस्

टीकापुर : टीकापुर नगरपालिकाले तारा एयरसँग न्यूनतम १५ सिटको ग्यारेन्टी लिने सम्झौता गरेपछि आइतवार तारा एयरको विमानले टीकापुरमा व्यावसायिक उडान गरेको  छ।    

आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ६ जना कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १:४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको हो। यो उडानसँगै तारा एयरले टीकापुर –नेपालगञ्ज–काठमाडौंको ‘कनेक्टिङ्ग फ्लाइट’ शुरु गरेको हो। नागरिक उड्डयन प्राधिकरणका अनुसार २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको थियो। 

तारा एयरको पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले विमानस्थलमा उत्रिएका थिए। व्यावसायिक उडान भरेको विमान अवतरणका क्रममा सयौं स्थानीयले स्वागत गरेका थिए। व्यावसायिक उडान शुरु भएपछि राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौं–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताए।

‘गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ’ राज्यमन्त्री चौधरीले भने। 

टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौंदेखि नेपालगन्जसम्म यति एयरलाइन्समार्फत र नेपालगन्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगर प्रमुख डगौरा थारूले जानकारी दिए।

विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं उडान हुनेछ। टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगर प्रमुख डगौरा थारूले जानकारी दिए।

‘यति एयरलाइन्सले काठमाडौं–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ, यसका लागि एकमुष्ट काठमाडौं–टीकापुरको एकतर्फी भाडा ९ हजार रुपैयाँ तय गरिएको छ’ नगर प्रमुख थारुले भने। 

उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ। टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौंको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ।

विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ। टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगन्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२:३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ। सोही दिन दिउँसो १:२० बजे तारा एयरको विमान नेपालगन्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २:०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउने समय तालिका निर्धारण गरिएको छ।

टीकापुर नगरपालिकाले तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ। न्यूनतम १५ सिट बुक नभए नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.