अन्नपूर्ण पोड्कास्टका लागि श्रेया अनुबन्धित
काठमाडौं : अन्नपूर्णले युवाहरूलाई लक्षित गरेर सञ्चालन गर्न लागेको पोड्कास्टका लागि श्रेया गिरी सञ्चालिकाको रुपमा अनुबन्धित भएकी छन्। फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जना युवाहरूको सूचीमा एसियाबाट छनोट भएकी उनी अन्नपूर्णले सञ्चालन गरेको पोड्कास्टका लागि १ वर्षका अनुबन्धित भएकी हुन्। उनी फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी थिइन्।
आइतबार अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टर तीनकुनेस्थित कर्पोरेट टावरमा आयोजित एक समारोहमा उक्त सहकार्य सम्झौता भएको छ। सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र श्रेया गिरीले हस्ताक्षर गरेका थिए। गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक तथा प्रबन्ध निर्देशक समेत रहेकी छन्। बेलायतमा स्नातकोत्तर गरेर नेपाल फर्किएकी थिइन्।
‘युवाका लागि केही गरौं भन्ने सोचले हामीले युवा केन्द्रित पोड्कास्ट सुरु गर्न लागेका हौं’ अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले भने ‘यसका लागि श्रेया जोडिनु हामी सबैका लागि खुसीको विषय हो।’ उनी युवाहरूका लागि उदाहरणीय र अनुकरणीय छिन्।
युवाहरूका लागि अन्नपूर्ण मिडियासँग जोडिएर काम गर्ने अवसर पाउँदा साहै खुसी लागेको श्रेयाले बताइन्। ‘हामी अहिलेका युवाहरू खोजे अनुरुपकै कन्टेनहरु लिएर पोड्कास्ट सञ्चालन गर्ने छौं’ उनले भनिन्।